काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुुहुनेछ । प्रधानमन्त्री नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा बस्नु हुनेछ । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल हुनुहुनेछ ।
यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्यहरु, नेपाल सरकारका मुख्यसचिव र सचिवहरु तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधिहरु पनि भ्रमण दलमा रहेका छन् ।
प्रधानमन्त्री ओली फागुन ७ गते भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्नुहुने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ ।
भ्रमण कार्यक्रमअनुसार प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धान्जलि अर्पण गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्री ओलीले हैदरावाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयहरुमा औपचारिक बैठक गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नुहुनेछ । भारत सरकारका केही वरिष्ठ सदस्यहरुले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नु हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सप्रु भवनमा आयोजना हुने भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
प्रमुख भारतीय सञ्चार माध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नुहुनेछ । त्यसैगरी, उहाँले गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यहरुबारे जानकारी लिनुुहुनेछ । उहाँले महाराष्ट्र राज्य मुम्बईका प्रतिष्ठित व्यापारीहरुसँग पनि भेटघाट गर्नुहुनेछ । उहाँको फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस
No comments:
Post a Comment