काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमण गर्नु अगाडि सबै दलसँग छलफल गरेर दुई देशबीच हुने सम्झौताका विषयमा निर्णय लिनु उपयुक्त हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले मुलुकको राष्ट्रियता र प्रतिष्ठालाई उँचो हुने गरी भारतसँगको सम्बन्ध आगडि बढाउनु पर्ने बताउँदै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा चनाखो हुनुपर्ने सुझाव दिनुभयो ।
सांसद डा राजन भट्टराईले प्रधानमन्त्रीको भ्रमणका बेला राजनीतिक र दीर्घकालीन प्रकृतिका विषयमा छलफल गरी दुई देशबीचको व्यपार सहज बनाउने विषयलाई महत्व दिनुपर्ने बताउनुभयो । उहाँले भारतसँगको सम्बन्धमा देखिएको असहजता अन्त्य हुनुपर्छ भन्ने चाहना सबैको रहेको भन्दै नाकाबन्दीको अन्त्यसँगै सम्बन्धमा सहजता आउन थालेको विचार व्यक्त गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले दुई देशबीच अहिले बिग्रिएको सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्रीको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै व्यापारलाई सरल बनाउने र भूपरिवेष्ठित मुलुकको अधिकारलाई कायम गर्न छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।
परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा विगतमा सम्झौता भएर पूरा नभएका विषयवस्तुलाई छलफल गर्नुपर्ने र भारतसँगको सम्बन्ध सुधारमा देखिएका कमजोरीलाई हटाउन भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा राख्नुभयो । रासस
No comments:
Post a Comment