Thursday, February 11, 2016

पुनःनिर्माणका लागि राष्ट्रिय एकताको खाँचो छ – अध्यक्ष दाहाल

त्रिशूली (नुवाकोट), २८ माघ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनादेखिको भारतीय नाकाबन्दी जनताको शिर झुक्न नदिइकनै खुलेको बताउनुभएको छ ।

आज नुवाकोटको खरानीटारमा अमरज्योति बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले नेपालीको स्वाभिमानमा अडान कायमै रहेका कारण नाकाबन्दी खुलेको उल्लेख गर्नु भयो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दलबीच राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउनु भयो ।

अध्यक्ष दाहालले दलीय एकताका कारण जसरी संविधान आयो त्यसैगरी देशको पुनःनिर्माणका लागि पनि दलीय एकताको खाँचो रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले नुवाकोटको खरानीटारमा प्राविधिक शिक्षालय र पुस्तकालय निर्माणमा तत्काल पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले नेपालका राजनीतिक दलले भारतको निर्देशनमा काम गर्न नमान्दा नाकाबन्दीको कष्ट सहनु परेको बताउनुभयो ।

अर्का एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले भूकम्पले भत्काएको नुवाकोट निर्माण गर्न पार्टीले भूमिका खेल्ने बताउनुभयो ।

खरानीटार बहुमुखी क्याम्पसका अध्यक्ष रामभक्त उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष विष्णुप्रसाद सापकोटा, नेकपा एमालेका २ क्षेत्रीय सचिव मनोज उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो । विसं २०६५ मा स्थापना भएको क्याम्पसको १६ कोठे भवन रु ७० लाखमा निर्माण भएको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts