Wednesday, February 24, 2016

विद्युत्भार कटौतीविरुद्ध पर्वत बन्द, जनजीवन प्रभावित

फलेवास (पर्वत), १२ फागुन । जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा समेत चर्को विद्युत्भार कटौती गरिएको भन्दै सदरमुकाम कुश्मावासी सडकमा उत्रिएका छन् ।

केही सातादेखि नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमा विद्युत्भार कटौती अन्त्यका लागि दबाब दिँदै आएका कुश्मावासीले आज पर्वत बन्दको आह्वान गरेर सडकमा निस्किएका छन्. । बन्दका कारण बिहानैदेखि सदरमुकाम कुश्माबजारका उद्योग, व्यवसाय, पसल, शैक्षिक संस्था, वित्तीय संस्था ठप्प बनेका छन् ।

आन्दोलनका क्रममा मङ्गलबार उपभोक्ता र प्रहरीबीच झडप भएको थियो । विगतका वर्षमा पर्वत जिल्लालाई प्रभावित क्षेत्रका रुपमा राखेर विद्युत्भार कटौती नगरे पनि यस वर्ष दैनिक १० घन्टासम्म विद्युत्भार कटौती भइरहेको छ । पर्वतमा १४.८ मेगावाटको मोदीखोला जलविद्युत्, १० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् र एक मेगावाटको पातीखोला जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

जिल्लामा विद्युत् आयोजना सञ्चालनमा भएको र प्रभावित क्षेत्रमा समेत १० घन्टा बढी विद्युत्भार कटौती भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आजपछि जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरणमा घेराउ राखेका छन् ।

आज पनि माग पूरा नभएमा बिहीबारदेखि यातायातसहित बजार, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना अनिश्चितकालका लागि बन्द गरिने संयुक्त सङ्घर्ष समितिका सचिव अच्युत तिवारीले जानकारी दिनुभयो । पर्वत बन्द भए पनि यातायातका साधन भने निर्बाधरुपमा सञ्चालन भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts