भक्तपुर, २७ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले देशलाई अपूरणीय क्षति भएको भक्तपुरका नेताहरुले बताएका छन् ।
मङ्गलबार राससलाई प्रतिक्रिया दिँदै नेताहरुले असल अभिभावक गुमाएको प्रतिक्रिया दिँदै गणतन्त्र बलियो बनाएर संविधान कार्यान्वयन गर्नमा उहाँको अभाव खड्किने नेताहरुले बताएका हुन् ।
नेपाली काँग्रेसका युवानेता एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले निःस्वार्थ एवम् त्यागी नेता कोइरालाको निधनले नेपाली कांग्रेसलाई मात्रै नभई सिङ्गो राष्ट्रलाई अपूरणीय क्षति भएको बताउनुभएको हो ।
पार्टी र देशका लागि जीवन अर्पण गर्ने, देशमा शान्ति कायम गर्ने, संविधान जारी गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारीको नेतृत्व गर्नुभएका कोइरालाको जीवनबाट पाठ सिकेर कांग्रेस अगाडि बढ्नुपर्ने कायस्थले बताउनुभयो ।
नेपाली काँग्रेसका युवानेता अष्टकुमार कवेँले पार्टी सभापति कोइरालाको आकस्मिक निधनले सिङ्गो काँग्रेस स्तब्ध र शोकमा डुबेको बताउँदै कोइरालाको चाहनालाई साकार गर्न कांग्रेसले उहाँको नीतिलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
काँग्रेसका नेता एवम् सांसद रामेश्वर ढुङ्गेलले संविधान निर्माणदेखि जारी गर्नेसम्मका जिम्मेवारी पूरा गर्दै देशप्रति बफादार नेताका रुपमा स्थापित भएका उहाँको निधनमा देशले असल अभिभावक गुमाएको प्रतिक्रिया दिनुभयो ।
जिल्लाका युवानेता दुर्लभ थापाले प्रजातन्त्र, देश निर्माण, गणतन्त्र स्थापना, संविधान जारी गर्न अहोरात्र खटिनुभएका सभापति कोइरालाको निधनले भक्तपुरवासीलाई स्तब्ध बनाएको बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य सोम मिश्रले सबै दललाई मिलाएर नेतृत्व दिएर लैजान सक्ने सक्षम नेतालाई देशले गुमाएको बताउनुभयो । उहाँको निधनले त्यागी नेताको अभाव खड्किने उहाँको भनाइ थियो ।
सभापति कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार नेपाली कांग्रेस भक्तपुर र नेपाली कांग्रेस भक्तपुर नगर समितिले शोक प्रस्ताव पनि पारित गरेको छ । रासस
No comments:
Post a Comment