काठमाडौँ, १४ फागुन । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अत्यन्तै सफल, उपलब्धिमूलक र अविष्मरणीय रहेको बताउनुभएको छ ।
नेपाल–भारतमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपाल–भारत सम्बन्धमा नयाँ आयाम’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भारतको राजकीय भ्रमणपछि दुवै देशबीच प्रगाढ मित्रता र साझा समृद्धिको नयाँ आयाम सुरु भएको बताउनुभयो ।
दुई मुलुकबीच पछिल्लो समयमा उत्पन्न तिक्तता, चिसोपन र असमझदारी हटाएर पूर्ववत् मैत्रीपूर्ण सम्बन्ध कायम राख्न भ्रमण उपलब्धिमूलक रहेको चर्चा गर्दै उपप्रधामन्त्री थापाले जलस्रोत, व्यापार र पारवहनका क्षेत्रमा दुवै मुलुकबीच महत्वूर्ण सम्झौतामा हस्ताक्षर भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा प्रकासशरण महतले नेपालको राजनीतिमा विद्यमान उग्र बामपन्थी र उग्र दक्षिणपन्थि विचारधाराको सीमित स्वार्थका कारण भारतसँग बेलाबेलामा तिक्तता उत्पन्न हुने गरेको बताउनुभयो ।
नेता महतले दुई मुलुकबीच सुमधुर सम्बन्ध कायम राख्न काँग्रेस जस्तो मध्यममार्गी पार्टी सदैव प्रयासरत रहेको बताउँदै काँग्रेसले राष्ट्रियताका सम्बन्धमा कहिल्यै पनि कसैसँग सम्झौता नगरेको जिकिर गर्नुभयो ।
नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री ओलीको भारत भ्रमण राजनीतिक, आर्थिक र भूकम्पपछिको पुनःनिर्माणका क्षेत्रमा उपलब्धिमूलक रहेको बताउनुभयो । राजदूत रायले दुवै मुलुकबीच विभिन्न समयमा भएका सम्झौताको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सांसद राजन भट्टराई, अर्थविद् विश्वम्भर प्याकुरेल, जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधान, समाजका अध्यक्ष प्रेम लस्करीलगायतले नेपाल–भारतबीचको सम्बन्धका बारेमा चर्चा गर्दै दुवै मुलुकबीच सुमधुर सम्बन्ध कायम राख्न सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment