नवलपरासी, १३ फागुन । नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने मदारबाबा मेला सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।
मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको सो मेला सफल बनाउन मेलास्थलसम्म दर्शनार्थी सहजरुपले पुग्ने गरी सबै तयारी पूरा भएको जनाइएको छ ।
मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी टाढा पहाड क्षेत्रको दुम्किबास डाँडामा रहेको छ । अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
मदारबाबा क्षेत्रको मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरसा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनुभयो ।
मदारबाबाको मुख्य समाधिस्थलका मुख्य पुजारी अमिरुल्लाह अन्सारीले विगत ५०० वर्षदेखि यो मेला निरन्तर लाग्दै आएको जानकारी दिनुभयो । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ ।
सातसय बिरामीले पाए उपचार
यसैबीच, नवलपरासीको गैँडाकोटमा सञ्चालित आँखा परीक्षण शिविरबाट करिब ७०० बिरामीले उपचार सेवा पाएका छन् ।
नेपाल आँखा अस्पतालको आयोजनामा ३२ जना चिकित्सकको समूहले गरेको शिविरमा ७०० सर्वसाधारणले आँखाको उपचार पाएका हुन् ।
सो क्रममा आँखा शिविरमा धेरैजसो बिरामीमा मोतिबिन्दु, आँखा कमजोर तथा विभिन्न किसिमका आँखाका समस्या देखिएका थिए । शिविरबाट धेरै सर्वसाधारण लाभान्वित बनेको भन्दै आँखाका बिरामीले खुसी व्यक्त गरेका छन् ।
पछिल्लो समय बढ्दै गएका आँखाका बिरामीलाई लक्षित गर्दै गैँडाकोट नेवापुचको व्यवस्थापनमा जनता उच्च माविमा शिविरको आयोजना गरिएको हो । रासस
No comments:
Post a Comment