Thursday, February 4, 2016

क्यान्सरसँग लडिरहेकी इन्दिरालाई खर्च अभाव

खोटाङ, २१ माघ । “फोक्सोमा पानी जमेको छ । असह्य तरिकाले छाती दुख्छ । हनहनी ज्वरो आउँछ, उत्तिकै मात्रामा टाउको पनि दुख्छ, चाँडो सञ्चो हुन पाए हुन्थ्यो ।” जिल्लाको दक्षिणी गाविस छितापोखरी–२ की इन्दिरा खड्काले टेलिफोनमा यसरी आफ्नो पीडा सुनाउनुभयो ।

फोक्सोको क्यान्सरपीडित खड्का अहिले काठमाडौँस्थित शिक्षण अस्पतालको श्ययामा मृत्युसँग लडिरहनुभएको छ । उपचारका क्रममा गत वैशाखदेखि घरबाट हिँडाइएकी इन्दिरालाई विराटनगर, धरान र काठमाडौँका पाँचवटा अस्पताल चहारेपछि मात्र क्यान्सर भएको पत्ता लागेको हो । “बिरामी आमाको उपचारका लागि वैशाखमा घर छाड्यौँ,” छोरा रुपेश खड्काले भन्नुभयो – “अस्पताल चाहार्दा–चाहार्दा भदौमा शिक्षण अस्पताल पुगेपछि मात्र क्यान्सर भएको पत्ता लाग्यो ।”

क्यान्सरका कारण इन्दिराको पेटमा जमिरहने पानी फालिरहनुपर्ने अवस्था छ । अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएकी खड्काको उपचारका क्रममा सोह्र लाख खर्च भइसकेको जनाइएको छ । उपचारकै क्रममा उनीहरु ऋणको भुङ्ग्रोमा परेका छन् । निम्न आर्थिकस्तरका खड्का परिवारले अहिलेसम्म ऋणपान गरेरै बिरामीको उपचार गरिरहेका छन् । इन्दिराको उपचारका लागि अस्पतालले अझै पन्ध्र लाख लाग्ने बताएको छ । पारिवारिक स्रोतका अनुसार इन्दिरालाई अहिलेसम्म क्यान्सर भएको विषयमा जानकारी दिइएको छैन ।

“आमाले मलाई के भएको, म निको हुन्न रे भनेर सोधिरहनु हुन्छ,” रुपेशले भन्नुभयो – “आमाको उपचारका लागि चाहिने पन्ध्र लाख कहाँबाट व्यवस्था गरौँ ? जे किन्न पनि पैसा चाहिन्छ, नचिनेको ठाँउमा मलाई कसले सहयोग गर्छ ?” खान, बस्नबाहेक इन्दिराको औषधि खरिदमा मात्र मासिक दश हजार खर्च हुन्छ । आमाको उपचारका लागि दौडधुप गर्ने क्रममा रुपेशको पढाइसमेत चौपट भएको छ । उपचारका नाममा प्रायः सबै आफन्तबाट ऋण लिइएको रुपेशले बताउनुभयो । “ऋण नलिएको आफन्त बाँकी छैन,” रुपेशले भन्नुभयो – “एक दिन कमाएर तिर्छु भन्दै ऋण लिएर आमाको उपचार गराइरहेको छु । अब त झनै समस्या भएको छ ।”

अस्पतालका चिकित्सकले इन्दिरालाई सात महिनाको ‘डेट’ दिएका छन् । त्यसमध्ये उनको पाँच महिना पूरा भइसकेको छ । सात महिना पार गराउन सकिए औषधिका भरमा भए पनि इन्दिरालाई बचाउन सकिनेमा खड्का परिवार आशावादी छन् । रुपेशका दुई बहिनी र एक भाइ घरमा बाबुसंँग घर व्यवहार सम्हालेर बसेका छन् । फोक्सोको अन्य ठाउँमा पनि क्यान्सर फैलिएकाले उपचारका लागि पन्ध्र लाखभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । “आमाको उपचारका लागि मैले यत्रो रकम कसरी जुटाउन सक्छु ?” रुपेशले रुँदै भन्नुभयो – “सबैको सहयोग पाएँ भने मात्र आमालाई बचाउन सक्छु ।”

इन्दिराको उपचार सहयोगार्थ रकम सङ्कलन गर्न भक्तपुर क्यान्सर अस्पतालले सिफारिसपत्र बनाइदिएको छ । गाविसको कार्यालय छितापोखरीले पनि शुभेच्छुकबाट सहयोग लिन सिफारिस थमाइदिएको छ । आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकिरहेका इन्दिराको सहयोगार्थ छितापोखरी गाविसको परिषद्ले दश हजार, चिप्रिङ गाविसको गाउँ परिषद्ले दश हजार र स–छितापोखरी गाविसको परिषद्ले पाँच हजार रुपैयाँ छुट्याएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts