धनगढी, २१ माघ । कैलाली जिल्लामा बिनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भूसी इँटा भट्टा (उद्योग)लाई आवश्यक प्रक्रिया पूरा गरी दर्ता गर्न थालिएको छ ।
औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भूसी इँटा उद्योगलाई विसं २०७३ माघसम्म आधुनिक प्रविधिमा रुपान्तरण हुने गरी नियमानुसार दर्ता गर्न गरेको नीतिगत निर्णयपछि भूसी इँटा उद्योग दर्ता प्रक्रियामा आएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिलीप चन्दका अनुसार दर्ता प्रक्रियामा आएका यी उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई)का लागि पठाइएकामा १७ वटा उद्योग दर्ताका लागि स्वीकृत भएका छन् ।
औद्योगिक प्रवद्र्धन बोर्डले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेका भूसी इँटा उद्योगको स्थलगत निरीक्षण गरी नियमानुसार उद्योग दर्ता गर्न घरेलु तथा साना उद्योग विभागलाई विसं २०७१ माघ महिनामा निर्देशन दिएको थियो । दर्ता प्रक्रियाको काम सुरु भएपछि कैलालीका करिब ४५वटा भूसी इँटा उद्योगका सञ्चालकले दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका थिए । औद्योगिक व्यवसाय ऐन, २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलु बाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्य जस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
अवैधरुपमा बिनामापदण्ड भूसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ–धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो छ । यद्यपि, चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिज तत्व कोइला, दाउरा आफूहरुले प्रयोग नगरी केवल जैविक भूसी (धानको भूस) प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भूसी इँटा उद्योगका सञ्चालकको छ ।
कैलालीमा मात्रै बिनादर्ता सञ्चालनमा रहेका करिब २०० यस्ता इँटा उद्योगका सञ्चालकले राज्यलाई कुनै पनि प्रकारको कर बुझाउने गरेका छैनन् । दर्ता भई सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरिएको भनिए पनि यी उद्योगमा आइइईअनुसार काम भए÷नभएको बारे अनुगमन हुन सकेको छैन । कतिपय चिम्नी इँटा उद्योग मानव बस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो बढ्दै भएको छ । रासस
––––––
No comments:
Post a Comment