काठमाडौँ, ७ फागुन । तत्कालीन राजा त्रिभुवनको त्रिपुरेश्वरमा रहेको सालिकको आज अनावरण गरिएको छ ।
गत वैशाख १२ गतेको भूकम्पबाट भत्किएको सो सालिक सेन्चुरी बैंकले करिब तीन महिनाको समयमा पुनःनिर्माण गरेको हो । सात लाखको लागतमा उद्यान सहित सालिक निर्माण गरिएको हो ।
उपप्रधानमन्त्री कमल थापाले विसं २००७ मा तत्कालीन राजा त्रिभुवन र जनताको साझा प्रयासबाट १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य भएको बताउँदै बैंकले सो सालिक पुनःनिर्माण गरेकामा सराहना व्यक्त गर्नुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त सालिक पुनःनिर्माण गरेको बताउँदै पशुपतिमा पनि वृद्धवृद्धाको सुविधाका लागि विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पबाट क्षति पुगेका काठमाडौँका विभिन्न ऐतिहासिक सम्पदाको विभिन्न सङ्घसंस्थासँग साझेदारी र सहकार्य गरी पुनःनिर्माण गरिने बताउनुभयो । रासस
No comments:
Post a Comment