काठमाडौँ, ११ फागुन । नेपाली लगानी र प्रविधिमा सञ्चालित सामाजिक सञ्जाल सगुन डटकम (क्बनययल।अयm)को परिस्कृत भर्सन ‘सगुन २.१’ आजदेखि सुरु भएको छ ।
सगुन २.१ डेस्कटप र मोबाइल वेभ भर्सनमा उपलब्ध यो सेवा स्मार्टफोन प्रयोगकर्ताका लागि सहज हुने कम्पनीले जनाएको छ ।
परिस्कृत डेस्कटप र मोबाइल वेभ भर्सनमा अहिलेको भन्दा केही नयाँ र थप सुविधा थपिएको सगुनको काठमाडौँ कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
परिस्कृत डेस्कटप भर्सन र मोबाइल वेभ भर्सन सगुन प्रयोगकर्ताकै सुझाव र प्रतिक्रियाका आधारमा तयार पारिएको सगुन डटकमका संस्थापक गोविन्द गिरीले बताउनुभयो ।
“प्रयोगकर्ताको सहज प्रयोगलाई ध्यानमा राखी सगुन टिमले उत्कृष्ट मोबाइल वेभ बनाउन सक्षम भएको छ”– अमेरिकाको वासिङ्टन डिसीबाट भिडियो कन्फ्रेन्समार्फत सगुनको परिस्कृत भर्सन सार्वजनिक गर्दै संस्थापक गिरीले पत्रकारसँग भन्नुभयो ।
उहाँका अनुसार केही नयाँ विशेषतासहित ल्याइएको परिस्कृत भर्सन विश्वभरका प्रयोगकर्ताले (२३ फेब्रुअरी २०१६) अर्थात् आजबाट चलाउन सकिनेछ । सगुनको मोबाइल एप्प पनि चाँडै सार्वजनिक हुने जनाइएको छ ।
यसैबीच सगुनले ‘मिनी आइपिओ’ मा जान स्वीकृति पाएको कम्पनीले जनाएको छ । सगुनलाई नयाँ चरणमा लैजान ‘मिनी आइपिओ’ मा जाने प्रयासस्वरुप अमेरिकी निकायले प्रमाणपत्र पदान गरेको संस्थापक गिरीले जानकारी दिनुभयो ।
सगुन नेपालका जनसम्पर्क र मिडिया प्रमुख अजयबाबु सिवाकोटीले सगुन २.० मा रहेका दिनहुँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्ने माई डे, आफ्नो मुड सेट गर्ने र कुराकानी गर्ने मुड टक र आफ्नो खुला तथा गोप्य कुरा राख्ने ओपन सेक्रेटलगायतका विशेषतामा केही नयाँ विशेषता थपिएको उल्लेख गर्नुभयो ।
सगुनको परिस्कृत भर्सनमा थपिएका विशेषतामा पुराना कमीकमजोरी र गल्ती हटाइएको छ, पहिलाको भन्दा छिटो खुल्नुका साथै छिटो प्रक्रिया पूरा हुन्छ । पहिलाको भन्दा यसमा सेक्रेट ट्रयाकिङ गर्ने नयाँ विशेषता थपिएको छ । सगुन २.० को केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट शुभारम्भ गर्नुभयो ।
केन्द्रीय कार्यालय वासिङ्टन डिसीमा तथा नयाँदिल्ली र काठमाडौँमा देशीय कार्यालय छ । सगुनका दुई लाख ५० हजारभन्दा बढी विश्वभर प्रयोगकर्ता रहेको बताइएको छ । रासस
No comments:
Post a Comment