काठमाडौँ, २३ माघ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका क्रममा शुक्रबार १९० निर्वाचन क्षेत्रमा भएको क्षेत्रीय अधिवेशनको परिणाम आउन थालेको छ ।
काठमाडौँका नौ निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन भएको थियो । काठमाडौँ १ को क्षेत्रीय सभापतिमा प्रकाश राना निर्वाचित हुनुभएको छ । क्षेत्र नं २ मा उपेन्द्र कार्की, क्षेत्र नं ३ मा सन्तोष चालिसे, क्षेत्र नं ४ मा राजु श्रेष्ठ, क्षेत्र नं ५ मा रमेश खड्का, क्षेत्र नं ६ मा श्याम खड्गी, क्षेत्र नं ७ मा मुकुन्द रिजाल, क्षेत्र नं ८ मा जुद्धरत्न बज्राचार्य, क्षेत्र नं ९ मा जयकृष्ण महर्जन र क्षेत्र नं १० मा पुकार महर्जन क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो ।
क्षेत्र नं ५ का खड्का र क्षेत्र नं ७ का रिजाल निर्विरोध निर्वाचित हुनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
शुक्रबार २२० निर्वाचन क्षेत्रमध्ये १९० मा क्षेत्रीय अधिवेशन भएको थियो । बारा जिल्लामा आइतबार गाउँ नगरको अधिवेशन हुने निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । सिरहामा गाउँ र वडा अधिवेशन सकी आज नगर अधिवेशन भइरहेको छ ।
एउटा निर्वाचन क्षेत्र मात्र रहेका हिमाली १४ जिल्लामा यही माघ २५ गते नै महाधिवेशन प्रतिनिधिसहित जिल्ला कार्यसमिति समेत चयन हुने निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताउनुभयो ।
औपचारिक रुपमा अहिलेसम्म बर्दियाको मात्र परिणाम आएको समितिले जनाएको छ । पर्वत र काठमाडौँ क्षेत्र नं ७ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि आज मतदान भइरहेको छ । रासस
No comments:
Post a Comment