रत्ननगर (चितवन), ४ फागुन । नेपाल पत्रकार महासङ्घ चितवनका सल्लाहकार तथा पूर्व अध्यक्ष जनक अर्याललाई आज रु ५० हजार ५१ को ‘अनन्त–गङ्गा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । यो जिल्लाकै सर्वाधिक राशिको पुरस्कार हो ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको १५औ साधारणसभाका अवसरमा आज उहाँलाई महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले कदरपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कार पाएपछि संक्षिप्त प्रतिक्रियाका क्रममा पत्रकार अर्यालले खुसी व्यक्त गर्दै व्यावसायिक र मर्यादित पत्रकारिताको खाँचो आँैल्याउनुभयो । उहाँले श्रमजीवी पत्रकारको समस्या अझै उस्तै रहेको प्रतिक्रिया दिनुभयो ।
सो क्रममा केन्द्रीय अध्यक्ष विष्टले आर्थिक समृद्धितर्फ अबको पत्रकारिता केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार अध्यक्षले व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउँदै आचारसंहितामा ख्याल गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले श्रमजीवी पत्रकारको क्षमता विकाससँगै उचित पारिश्रमिक उपलब्ध गराउन पहल जरुरी रहेको बताउनुभयो । उहाँले पत्रकारलाई आचारसंहिताको पूर्ण पालना गरी काम गर्न आग्रहसमेत गर्नुभयो ।
चितवनको नारायणढ निवासी अनन्तलाल चुके र उनकी श्रीमती गङ्गादेवी चुकेको नाममा छोरा बालगोपाल चुकेले रु १० लाखको अक्षकोष स्थापना गरी सो पुरस्कार स्थापना गरिएको हो ।
उक्त पुरस्कार आज पहिलोपटक वितरण गरिएको हो । पत्रकार अर्याल विगत तीन दशकदेखि चिवतनमा पत्रकारिता गर्दै आउनुभएको छ ।
उहाँ पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । सो क्रममा पत्रकारिता पुरस्कार स्थापनामा योगदान गर्नुहुने अनन्तलाल चुके र गङ्गामायाँलाई सम्मानसमेत गरिएको थियो ।
चितवनमा बसेर १५ वर्ष पत्रकारिता गरिसकेका पत्रकारलाई प्रदान गर्ने गरी यस वर्षदेखि जिल्लाकै सर्वाधिक राशिको पुरस्कार स्थापना भएको नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
आगामी वर्षदेखि भने उक्त पुरस्कार माघ १० गते वितरण हुने भए पनि यो पहिलो पुरस्कार भने पत्रकार महासङ्घको साधारणसभाका क्रममा वितरण गरिएको हो । रासस
No comments:
Post a Comment