इलाम, ४ फागुन । इलामको टुँडिखेलमा आज सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सिंहदेवी उच्च मावि एकतप्पाले हात पारेको छ ।
प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई पछि पार्दै १८५ अङ्क प्राप्त गर्दै एकतप्पाले उपाधिमा कब्जा जमाएको हो । एकतप्पाले लगातार सातपटक उपाधि जितिसकेको छ ।
उपाधिसँगै सिंहदेवीले रु १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा एकतप्पाकै जनकल्याण मावि १२५ अङ्कका साथ दोस्रो र सूर्याेदय नगरपालिकाको करफोक विद्यामन्दिर उच्च मावि ११५ अङ्क प्राप्त गर्दै तेस्रो भएको छ । दोस्रो र तेस्रोले क्रमशः नगद रु १२ हजार, रु नौ हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
एथलेक्टिसमा १००, ४००, ८००, १५००, ३००० र ५००० मिटर दौड, १०० इन्टु ४ र ४०० इन्टु ४ रिले दौड, हाईजम्प, लङजम्प, ज्याब्लिङ थ्रोलगायत १३ विधाका खेल समावेश गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा आयोजित प्रतियोगितामा प्रमुख अतिथि जिल्ला शिक्षा समितिका संयोजक स्थानीय विकास अधिकारी मदन कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जीतबहादुर राईलगायलते पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै खेलकुदको माध्यमबाट देशको समग्र विकास सम्भव हुने बताउनुभयो । रासस
No comments:
Post a Comment