Friday, February 26, 2016

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

काठमाडौँ, १४ फागुन । सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सो रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

आजदेखि कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिनुभयो । विद्यालयमा जाने कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका १५ हजार किशोरीलाई खोप दिइने गौतमले बताउनुभयो । खोप दुई चरणमा दिइनेछ । पहिलो चरण फागुन १६ गते र दोस्रो चरण छ महिनापछि दिइने भएको छ ।

उहाँले भन्नुभयो — “अहिले परीक्षणस्वरुप दुई जिल्लामा खोप कार्यक्रम सुरु गरेका छौँ । बाँकी जिल्लामा यस कार्यक्रमको प्रभावकारिता हेरी सुरु गरिनेछ ।” निःशुल्क रुपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार पर्न आउने गौतमको भनाइ छ । विद्यालयमा जाने किशोरीलाई विद्यालयमा पुगेर खोप दिनुपर्ने र नजाने किशोरीलाई नजिकको स्वास्थ्य केन्द्रमा पुगेर खोप दिने भएकाले कार्यक्रम सञ्चालन कठिन भएको र दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।

गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ । उहाँले भन्नुभयो – ‘‘खोप कार्यक्रम र महिलाको कार्यक्रमलाई सँगै लैजाने तयारी गरिरहेका छौँ ।’’ सरकारी तवरबाट पहिलोपटक पाठेघरको मुखको क्यान्सर रोक्न खोप कार्यक्रम सञ्चालन गर्न लागेको भए पनि निजी क्षेत्रबाट भने खोप पहिलेदेखि नै दिइँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts