वीरगन्ज, १६ फागुन । नेपाली काँग्रेसको महाधिवेशनमा पर्साबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले समान्तवादी उत्पीडन, पुँजीवादी असमानता र विभेदको अन्त्य गरी राष्ट्रिय एकताको नयाँ सन्देश दिनमा नेपाली काँग्रेसको महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
मुलुकले अब राजनीतिक क्रान्तिको चरण पार गरेको भन्दै जिल्लाका नेताले अब समृद्धिका लागि आयआर्जनका नयाँ कार्यक्रमसहित सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अघि बढ्नुपर्ने नीति काँग्रेसले लिनुपर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि रमेश रिजालले लोकतान्त्रिक समाजवादअनुरुपको सामाजिक आर्थिक रुपान्तरणको नीतिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो । उल्लेख गर्दै मुलुक अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढिसकेकाले सोहीअनुरुप पार्टीको आन्तरिक संरचना परिवर्तन र त्यही किसिमको आर्थिक तथा सामाजिक विकासका एजेन्डा आगामी महाधिवेशनबाट पारित हुनुपर्नेमा जोडदिनुभयो ।
“नेपाली काँग्रेसको अगामी महाधिवेशनले सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सामाजिक न्याय र समतामूलक विकास र सामाजिक एकताको सन्देश लिएर अगाडि आएको छ”– अर्का केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि अजयकुमार चौरसियाले भन्नुभयो, “सदियौँदेखि उपेक्षित, उत्पीडित, शोषित मधेसी, दलित, आदिवासी, जनजाति र अल्पसङ्ख्यक समुदायको मुक्तिका लागि फराकिलो र अग्रगामी सोचसहितको कार्यनीति पार्टीले लिनुपर्दछ ।”
काँग्रेस नेता अजयकुमार द्विवेदीले आमनेपालीको साझा मुद्दाका रुपमा रहेको समान्तवाद, पुँजीवादी असमानता र विभेदविरुद्धको एजेण्डालाई अगामी महाधिवेशनले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै मधेसी र पहाडी दुवै नेपाली हुन्, यी दुवै मिलेर नै नयाँ र समृद्ध नेपाल निर्माण गर्नुपर्दछ र यसको नेतृत्व काँग्रेसले लिनुपर्दछ, भन्नुभयो ।
“देश सङ्घीय ढाँचामा गइसकेको अवस्थामा सोहीअनुरुप पार्टीलाई थप व्यवस्थित र परिवर्तनलाई आत्मसात् गर्ने तवरबाट गतिशील बनाउनका लागि महाधिवेशनले स्पष्ट मार्ग निर्देश गर्न सक्नुपर्छ”–नेपाली काँग्रेसका नेता तथा सांसद राजेन्द्रबहादुर अमात्यले भन्नुभयो, “मुलुकका लागि आर्थिक समृद्धि र दिगो विकास अहिलेको प्रमुख कार्यभार हो, भन्ने कुरालाई उच्च प्राथमिकता दिई नीति तथा कार्यक्रम तय गर्नसक्नुपर्दछ ।”
काँग्रेसका युवा नेता जनार्दनसिंह क्षेत्रीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको र नेपालको राष्ट्रियता यिनै विविधताको एकताबाट सम्भव हुने भएकाले पार्टीको नीति तथा कार्यक्रम पनि त्यहीअनुरुप तय गरिनुपर्छ भन्दै देश सङ्घीयतामा गइसकेको र समावेशिता तथा समानुपातिक पद्धतिलाई अङ्गीकार गरिसकेका अवस्थामा मधेसी, दलित, जनजाति महिला तथा पिछडिएको वर्गलाई मूल प्रवाहमा समावेश गर्न त्यही किसिमको नीति तथा कार्यक्रम तय गरिनुपर्नेमा जोडदिनुभयो ।
महाधिवेशन प्रतिनिधि अशोककुमार जयसवालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता र समन्यायिक आर्थिक तथा सामाजिक विकासलाई संस्थागत गर्ने किसिमले नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
क्षेत्र नं १ का सभापति एवम् महाधिवेशन प्रतिनिधि विजय सरार्फले पार्टीलाई संस्थागत रूपमा विकास गर्ने किसिमको नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक तथा आर्थिक रुपान्तरणको एजेन्डामा मुलुकलाई अघि बढाउने सोचका साथ नीति तथा कार्यक्रम तय गरिनुपर्ने बताउँदै क्षेत्र नं २ का सभापति एवम् महाधिवेशन प्रतिनिधि अरबिन्द गुप्ताले सबै नेपालीको पहिचान, सम्मान र स्वाभिमानको संरक्षण गर्ने स्पष्ट कार्ययोजना महाधिवेशनले ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment