Tuesday, February 9, 2016

चोरिएको ठाउँमा पुनः क्यामेरा जडान गरियो

कञ्चनपुर, २७ माघ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएपछि अर्को क्यामेरा जडान गरी कार्य सुरु गरिएको छ । आरक्षको मालुवेलाको सलगौडी ताल नजिकै राखिएको एक थान क्यामेरा चोरी भएको थियो ।

“अनुगमनका क्रममा पाटेबाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएपछि अर्को क्यामेरा जडान गरेर कार्य सुरु गरेका छौँ”, आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो । क्यामेरा चोरीमा संलग्नको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । पाटेबाघको सङ्ख्या यकिन गर्नका लागि आरक्ष कार्यालयले दुई साताअघि देखि स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरिरहेको छ । स्वचालित ४६ जोडी क्यामेरा, २० भन्दा बढी प्राविधिकको टोली र हात्तीको सहायताले बाघ गणनाको कार्य भइरहेको छ ।

गत पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेका पाटेबाघको सङ्ख्या गत वर्ष बढेर आरक्षमा १७ पुगेको थियो । यस वर्ष पाटेबाघको सङ्ख्या बढ्ने अनुमान गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १)मा सूचीकृत रहेको पाटेबाघ विश्वकै सबैभन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ । आरक्षको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts