Tuesday, February 9, 2016

भूकम्पपीडित सैनिकलाई गुल्मबाट रकम वितरण

दमौली, २७ माघ । तनहुँको ब्यास नगरपालिका–८ चापाघाटस्थित रामवाण गुल्मले भूकम्पपीडित सैनिकलाई रु ६ करोड ९२ लाख राहत रकम वितरण गरेको छ । तीन चरणमा गरी ती सैनिकलाई उक्त राहत रकम वितरण गरिएको गुल्मले जनाएको छ ।

पहिलो चरणमा एक हजार १५२, दोस्रो चरणमा २८७ र तेस्रो चरणमा ५९६ गरी वितरण गर्नुपर्ने दुई हजार ३५ जना सैनिकमध्ये एक हजार ९०५ जनालाई उक्त राहत रकम वितरण गरिएको गुल्मका लेखापाल प्रेमबहादुर पाण्डेले बताउनुभयो । अब १३० जना सैनिकलाई राहत रकम वितरण गर्न बाँकी रहेको जानकारी उहाँले दिनुभयो । विभिन्न ठाउँमा तालिममा रहेका बहालवाला ती सैनिकलाई राहत रकम वितरण गर्न बाँकी रहेको लेखापाल पाण्डेले बताउनुभयो । नेपाली सेनाको जङ्गी अड्डाबाट प्राप्त भएको उक्त राहत रकम जिल्लाभित्रका भूकम्पबाट प्रभावित बहालवाला र भूपूसैनिकलाई उपलब्ध गराइएको हो ।

भूकम्पले पूर्णरुपमा क्षति भएका सैनिकलाई प्रतिव्यक्ति रु ५० हजार र आंशिक रुपमा क्षति भएका सैनिकको परिवारलाई २५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको गुल्मपति दुर्गाबहादुर थापाले बताउनुभयो । ती भूकम्पपीडित सैनिकलाई एनआइसी बैंक दमौली शाखाको चेक उपलब्ध गराइएको छ । नेपाली सेनाको एक टोलीले घर–घरमा अनुगमन गरी आवश्यक कागजात पूरा गरेपछि राहत वितरण गरिएको हो । उक्त रकम पाउँदा आफूहरुलाई निकै राहत मिलेको अधिकांश सैनिकले बताए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts