काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणमा राजनीतिक तथा आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्नेमा विभिन्न उद्योग व्यवसायीले सुझाएका छन् ।
रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घकी कार्यबाहक अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक पक्ष रहेको भन्दै आर्थिकसम्बन्धी दुई चारवटा सम्झौता हुनसके भारतसँगको व्यापार घाटा कम हुने कुरा व्यक्त गर्नुभयो ।
उहाँले भारतीय भन्सारमा सहजीकरण, नेपालबाट बनेका कृषिजन्य वस्तु निर्यात, पर्यटन प्रबद्र्धन तथा ऊर्जा सङ्कटसम्बन्धि विषयमा सम्झौता हुनसके नेपालको आर्थिक विकास तथा समृद्वि हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले नेपालको औद्योगिक विकासको लागि पनि नेपाल र भारतको राजनीतिक सम्बन्ध सुमधुर हुनु आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले भारतसँग ससाना कुरामा राजनीतिक सम्बन्ध बिग्रनाले पनि नेपालको औद्योगिक विकासमा बाधा हुने भन्दै प्रधानमन्त्रीले नेपालको आर्थिक विकासको लागि दीर्घकालीन समाधानको उपायबारेमा सोच्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष शर्माले भारतसँगको व्यापार घाटा कम गर्ने विषयमा गम्भीर हुनुपर्ने भन्दै दुई देशबीच लगानी अभिवृद्धि गर्ने र व्यापार विस्तारमा प्रधानमन्त्रीले जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालमा पूर्वाधारको विकास गरी विद्युत् उत्पादन गरेर भारत पु¥याउन सके व्यापार घाटा कम हुने भनाइ व्यक्त गर्नुभयो ।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारले प्रधानमन्त्रीको भारत भ्रमण सबैको चासोको विषय भएकाले पनि देशका विभिन्न समस्या स्थायीरुपमा समाधान हुनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment