जाजरकोट, २७ माघ । जिल्ला सदरमुकाम नजिकै कन्सलटेन्सीले गलत डिजायन गरेपछि लामो समयदेखि पुल निर्माणको काम प्रभावित भएको छ । कन्सलटेन्सी कम्पनीले गरेको डिजायन एउटा र गर्नुपर्ने काम अर्को भएपछि पुल निर्माण कार्य प्रभावित भएको हो ।
सदरमुकामदेखि भन्डै चार किलोमिटरको दूरीमा रहेको पासाँगाड खोलाको मोटर चल्ने पुल निर्माण कार्य दुई वर्षपहिलेदेखि प्रभावित हुँदै आएको छ । निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग सम्झौता गरेको दुई वर्ष बितिसकेको छ तर निर्माण कार्य सुरु हुन सकिरहेको छैन ।
उक्त पासाँगाड खोलाको मोटरेबल पुलको डिजाइन इस्टमेट आइएमई आरसी नामक ललितपुरको कन्सल्टेन्सी कम्पनीले २०६९ सालमा झन्डै रु सात लाखको बजेटमा निर्माण गरेको सडक डिभिजन कार्यालयले बताएको छ । कन्सल्टेन्सी कम्पनीले ४६ मिटर लामो मोटरेबल पुलको डिजाइन, इस्टमेट गरेबमोजिम नै ठेक्का खोल्ने, स्वीकृति गर्ने र सम्झौता गर्ने काम भएको सडक डिभिजन कार्यालयको भनाइ छ ।
निर्माण कम्पनीलाई कामको साइट दिनेक्रममा पुलनिर्माण गर्नुपर्ने स्थल ४६ मिटर लम्बाइको नभएर २५ मिटरको मात्र भएको हुँदा निर्माण कम्पनीले सम्झौता गरेअनुसारको रकम कार्यालयले दिन नसक्ने सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले जनाएको छ । मोटरेबल पुल निर्माणका लागि करिब रु तीन करोडमा लुम्बिनी–आशीष जेभी निर्माण सेवा काठमाडौँले सडक डिभिजन कार्यालय सुर्खेतसँग २०७० सालमा सम्झौता गरेको थियो ।
डिजाइन इस्टमेटका आधारमा खोलिएको ठेक्का सम्झौता भइसकेकाले सम्झौताअनुसार नै कार्यालयले भुक्तानी दिन तयार भएमा कम्पनीले छिट्टै निर्माण कार्य सुरु गरी निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने लुम्बिनी–आशीष जेभीका साइट इन्चार्ज राजन भण्डारीले जानकारी दिनुभयो । कार्यालयसँग भएको सम्झौताअनुसार नै काम गर्ने भएको हुनाले निर्माण सेवाले सम्झौता म्याद भएको १० महिनाअघि नै फेरा खोलाको मोटरेबल पुल निर्माण गरिसक्ने भण्डारीले बताउनुभयो ।
उहाँले एकै समयमा सम्झौता गरिएका पुल निर्माणका काममा फेराको पुल आगामी चैत महिनाभित्रै निर्माण कार्य सम्पन्न हुँदैछ भने पासाँगाडको पुल निर्माणमा कुरा नमिल्दा काम नै सुरु हुन नसकेको बताउनुभयो । पासाँगाडको पुल निर्माणका लागि आफ्नो कम्पनीले निर्माण गरेको डिजाइन इस्टमेटको स्थल नै सडक डिभिजन कार्यालयले अस्वीकार गरेर स्थल नै फरक परेको हुँदा त्यस्तो समस्या आएको आइएमई आरसी ललितपुर कन्सलटेन्सी कम्पनीका इन्जिनियर दीपक गुप्ताले बताउनुभयो ।
लुम्बिनी–आशीष जेभीले छिन्चु–जाजरकोट करिडोरभित्रै पर्ने सुर्खेत राकमको गोजीखोला, जाजरकोटको छेरागाड, फेरा र आशीष निर्माणसेवा मात्रकै नाममा रुकुम चिसापानी र जाजरकोटको वैरीताल जोड्ने मोटरेबल पुल निर्माणको कामलाई अगाडि बढाइरहेको छ । रासस
No comments:
Post a Comment