Tuesday, February 9, 2016

क्याम्पसलाई रु चौध लाख सहयोग

बागलुङ, २६ माघ । आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा यहाँका एक व्यक्तिले क्याम्पसलाई चौध लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको छ ।

जिल्लाको बुर्तिवाङ निवासी शिक्षाप्रेमी शोभाखर खनालले सोही स्थानमा रहेको निसीभुजी जनता क्याम्पसलाई सो रकम सहयोग गर्नुभएको हो । क्याम्पसको निर्माणाधीन भवनमा बुबा परमानन्द खनाल र आमा गौरी खनालको स्मृति कक्ष निर्माणार्थ सहयोग प्रदान गरेको खनालले बताउनुभयो ।

खनालले यसअघि पनि त्यस क्षेत्रको सामाजिक, शैक्षिक विकासमा सहयोग पु¥याउँदै आउनुभएको छ । सहयोगदाता खनाल र उहाँकी धर्मपत्नी बेली खनाललाई क्याम्पसले यसै साता सम्मानसमेत गरेको छ । क्याम्पसको पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि थप सहयोग दिँदै जाने उहाँको भनाइ छ ।

खनालको सहयोगले क्याम्पसलाई ठूलो राहत मिलेको सञ्चालक समितिका उपाध्यक्ष तुलसीराम अर्यालले बताउनुभयो । यसअघि पनि उपाध्यक्ष अर्याल स्वयम्, समाजसेवी हर्कबहादुर गुरुङ र अर्जुन मल्लले प्रतिव्यक्ति रु चौध लाखका दरले क्याम्पसलाई सहयोग प्रदान गर्नुभएको थियो ।

सहयोगदाताले इच्छाएको व्यक्तिको नामबाट स्मृति कक्षको नामाकरण गर्नुका साथै शिलालेखमा समेत नाम उल्लेख गरिने क्याम्पसले जनाएको छ । रु ८५ लाखको लागतमा बन्न लागेको क्याम्पसको नयाँ भवनका लागि सहयोग रकम प्राप्त हुनेक्रम जारी छ । सहयोगदाताबाट प्राप्त रकम क्याम्पसको भौतिक र शैक्षिक विकासमा खर्च गरिने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts