काठमाडौँ, ९ फागुन । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले वैचारिक रुपमा प्रष्टतासहित पार्टीको सङ्गठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एमाओवादीका दिवङ्गत नेता गौरीशङ्कर खड्काको पाँचौ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैचारिक र नैतिक बल नै सबैभन्दा ठूलो हतियार भएकाले त्यसैलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले एमाओवादीलाई पुनः एकीकृत, सङ्गठित र मर्यादित बनाउनका लागि पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आ–आफ्नो स्थानबाट त्याग गर्नुपर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकमा फेरि पनि क्रान्तिकारी विचारलाई एक पटक माथि उठाउनु जरुरी छ । हामी सबैले त्यसमा त्याग गराँै, अभियान सुरु गरौँ, हामी सफल हुन्छौँ ।”
उहाँले माओवादी आन्दोलन एउटा पहिचान भएकाले मुलुकको समग्र कार्यदिशा र नेतृत्वसमेत माओवादीकै हातमा रहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी आन्दोलन पहिचान हो, माओवादीको पहिचानबिना मुलुकमा अरु कुनै पनि पहिचान हुन सक्दैन ।”
सो अवसरमा एमाओवादीका कोषाध्यक्ष एवम् कृषि मन्त्री हरिबोल गजुरेल, नेता राम कार्कीले जनताको भावना बुझ्न सक्ने पार्टी निर्माणका लागि दिवङ्गत नेता खड्काबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभएको थियो । रासस
No comments:
Post a Comment