भक्तपुर, २९ माघ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गते हुने भारत भ्रमण दुई देशको सम्बन्ध सुधार गर्न केन्द्रित हुने बताउनुभएको छ ।
आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ क्वाछें थिमीमा रहेको शङ्खधर मेमोरियल स्कुलको १२औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले भारतसँग विगतमा देखिएको तिक्तता प्रधानमन्त्रीको भ्रमणले अन्त्य हुने बताउनुभयो ।
मन्त्री खरेलले भन्नुभयो– “भारतसँगको नेपालको सम्बन्ध हामीले बिगारेको होइन, दुई देश आपसमा मिलेर जानुपर्छ भन्ने हो, पुर्खाले जोगाएको स्वाभिमानलाई कुनै पनि बहानामा हामी झुक्न दिन्नौँ ।”
नेपालबाट छिमेकी मुलुकलाई असुरक्षा हुन नदिनेमा जोड दिँदै उहाँले छिमेकीसँगको सम्बन्धलाई ठीक ढङ्गले व्यवस्थित गर्ने उहाँको भनाइ थियो ।
भारत भ्रमणपछि प्रधानमन्त्री ओलीले चीनको पनि भ्रमण गर्ने बताउँदै उहाँले चीनको भ्रमणमा पारबहन, आपूर्ति र व्यापार विविधिकरणबारे छलफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले घोषणा गरेको विषयलाई आलोचना गर्दै हाँसोमा उडाउनु गलत भएको टिप्पणी गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीले गरेको घोषणा साकार भएपछि अहिले हाँस्ने आफैँ हाँसोको पात्र बन्ने बताउनुभयो ।
सीमाङ्कनका विवाद टुङ्याउन सरकार र मधेसी मोर्चाको वार्ता जारी रहेकाले अब छिट्टै निकास निस्कने उहाँको दाबी थियो । उहाँले भन्नुभयो–“सीमाङ्कनको बारेमा चूरोकुरो निकाल्न मोर्चासँग वार्ताको टेबलमा बसिरहेका छौँ, यसले छिट्टै निकास दिनेमा हामी विश्वस्त छाँै ।”
कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले वर्तमान सरकार नाकाबन्दी खोलाउन भारतसँग झुक्छ की भन्ने धेरैले आशङ्का गरेकामा भारतसँग नझुकी नै नाकाबन्दी खुलेको बताउनुभयो । नाकाबन्दी मधेसी दलले नगरेको जिकिर गर्दै बस्नेतले नाका खुलेपछि मधेसी मोर्चा लतारिएर आफैँ वार्तामा आएको टिप्पणी गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल मदनसुन्दर श्रेष्ठले भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा अगाडि बढिरहेको बताउँदै नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गर्नुपर्ने औँल्याउनुभयो ।
त्यसअवसरमा मन्त्री खरेलले स्थापनाकालदेखि नै कार्यरत शिक्षिका इन्द्रायणी वज्राचार्यलाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, पदक एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । रासस
No comments:
Post a Comment