Friday, February 12, 2016

उपप्रम थापाद्वारा कालिका–पोखरा जोड्ने पुल उद्घाटन

पोखरा, २९ माघ । विजयपुर खोलामा निर्मित कालिका गाविस–६ र पोखरा उपमहानगरपालिका–२२ लाई जोड्ने पक्की पुल उद्घाटन गरिएको छ ।

पुलको उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आज यहाँ आयोजित एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

लोकल रोड बृज प्रोग्रामअन्तर्गत कुल ३७.२५ मिटर लम्बाइको पुल कुल रु एक करोड ८९ लाख ११ हजार ९५६ को लागतमा निर्माण गरिएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री थापाले पुलको निर्माणसँगै यस क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको बताउँदै उहाँले सरकार राजनीतिक दलसँग छलफल गरी चाँडै नै निर्वाचन गराउने तयारीमा लागिसकेको उल्लेख गर्नुभयो ।

संविधान जारीसँगै देशको शान्ति प्रक्रिया र राजनीतिक सङ्क्रमण अन्त्य भएकोमा जोड दिँदै उहाँले देशलाई अब आर्थिक समृद्धि र विकासको मार्गमा उन्मुख बनाउनुपर्ने धारणा राख्नुभयो ।

नयाँ संविधान दलबीचको सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उहाँले यो परिवर्तनशील दस्तावेज भएकाले यसमा अन्तरनिहीत विषयलाई जनताले चाहेमा आवश्यकताअनुसार परिमार्जन गर्दै जान सक्ने बताउनुभयो ।

सांसद शारदा पौडेलले विकास निर्माणमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै समाजको विकासका लागि सबैको एकताबद्ध सहयोग अपरिहार्य हुने बताउनुभयो ।

स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले पुलको निर्माणसँगै कसेरीभैसे थुमाकोडाँडालगायत यस आसपासका क्षेत्रको विकासमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष देवीजङ्ग गुरुङले पुलको अभावमा लामो समयदेखि सम्भावना बोकेर पनि ओझेलमा परेको कसेरीभैसे थुमाको डाँडा र यस आसपासको क्षेत्रका लागि पुल बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts