Tuesday, February 23, 2016

तराई–मधेसमा दुई स्वायत्त प्रदेश बनाउन माग

काठमाडौँ, ११ फागुन । सद्भावना पार्टीले राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनका आधारमा तराई–मधेसमा दुई स्वायत्त प्रदेश हुने गरी सीमाङ्कन गर्न र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरेको छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–“आफूहरुले सारा आन्दोलनका कार्यक्रमलाई स्थगन गरेको अवस्थामा सरकारले जायज मागलाई सम्बोधन नगरे आगामी चैत–वैशाखमा निर्णायक आन्दोलन गरिने छ ।”

अबको आन्दोलन मिलेर गर्ने र यसमा संसद्भित्र र संसद्बाहिर रहेका सबै मधेसकेन्द्रित दललाई महागठबन्धनमा जोड्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको खास उद्देश्य नरहेको र त्यसको खासै महत्व नरहने पनि बताउनुभयो ।

राज्यका सबै अङ्गमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व गराउन, नागरिकता समस्या समाधान गर्न, संयुृक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग राखेका एघारबुँदे माग पूरा गर्न, मधेस आन्दोलनमा देहावसान हुनेलाई सहिद घोषणा गर्न, घाइतेलाई क्षतिपूर्ति दिलाउन र ‘आन्दोलनमा सरकारद्वारा गरिएको दमन’को निष्पक्ष न्यायिक आयोग गठन गर्न पनि माग गरिएको छ । पार्टीको राष्ट्रिय कार्यसमितिको बैठक आगामी चैत १५ र १६ गते विराटनगरमा हुने पनि जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts