भक्तपुर, २६ माघ । गत वैशाख १२ गतेको भूकम्पपछि भक्तपुरको विभिन्न क्षेत्रको वन फँडानी गरेर टहरा एवम् घर निर्माण कार्य बढेको छ ।
भूकम्पअघि बनेका त्यस्ता टहरा एवम् होटल रेस्टुराँ हटाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले योजना बनाए पनि कार्यान्वयन नभएपछि भूकम्पपछि व्यापक वन फँडानी गर्दै टहरा निर्माण हुन थालेका छन् ।
भूकम्पपीडितका नाममा गैरभूकम्पपीडितले समेत भक्तपुरका विभिन्न नगरपालिका क्षेत्र जाने सडक दायाँबायाँ वन फँडानी गरेर टहरा एवम् घर निर्माण गर्न थाले पनि सम्बन्धित निकायले भने कुनै चासो दिएको छैन ।
भक्तपुरको कमलविनायकबाट तेलकोट हुँदै नगरकोट जाने सडकको दायाँबायाँ वन फँडानी गर्दै व्यापक रुपमा टहरा निर्माण गरी होटल तथा रेस्टुराँ निर्माण गर्ने, घर बनाउने क्रम बढेको छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाको पाइलट बाबा आश्रम जाने क्षेत्रमा समेत सडक कालोपत्रे भएपछि वन फँडानी गरेर टहरा निर्माण गरेर आवास एवम् होटल तथा पसल निर्माण गर्ने क्रम बढेको छ ।
जथाभावी रुपमा बनेका टहरा आवासका लागिभन्दा पनि व्यापारका लागि भएको स्थानीयवासीको गुनासो छ ।
जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख सूर्यकान्त सिग्देलले नयाँ तथा पुराना सडक निर्माणकै क्रममा वन फँडानी भएको बताउनुभयो । सरकारको जिम्मेवार निकायले नै वन फडानी गरेर सडक निर्माण गर्ने र त्यस्ता सडक दायाँबायाँ रुख काट्ने र अतिक्रमण गरेर टहरा हाल्ने क्रम रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – “सडकको दायाँबायाँ नियम विपरीत रुख काटेर घरटहरा निर्माण भइरहेको जानकारी पाएका छौँ, त्यस्ता टहरा सडकको मापदण्डभित्रकै जग्गामा निर्माण भएकाले त्यसलाई हटाउने जिम्मेवारी पनि सडक डिभिजन कार्यालयकै हो, हाम्रो होइन ।”
सडकको दायाँबायाँ सडक करिब १० देखि ३० मिटरसम्मको क्षेत्र सडक मापदण्डभित्र पर्ने र त्यस्ता टहरा एवम् संरचना पनि सडककै मापदण्डभित्र परेकाले त्यसलाई हटाउने जिम्मेवारी सडककै भएको उहाँको भनाइ थियो ।
यता डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख देवेन्द्र शाहले भने सडक कार्यालयको जिम्मेवारीमा रहेका सडकको बाहेक अरु सडकको जिम्मा कार्यालयले लिन नसक्ने बताउनुभयो ।
प्रमुख शाहले भन्नुभयो – “सडक विभागको बाटो जो राष्ट्रिय राजमार्ग हो, त्यस्ता सडकमात्रै कार्यालयले हेर्ने हो, त्यस्ता सडकबाहेक अरु सडक कार्यालयले हेर्दैन, सडक दायाँबायाँ जङ्गल भएका क्षेत्रमा टहरा बन्छ भने त्यो वन कार्यालयले नै रोक्नु पर्छ ।”
पाइलट बाबा आश्रम जाने क्षेत्रको सडक कार्यालयको जिम्मामा नपरेको र नगरकोट सडकको दायाँबायाँ सडक मिचेर बनाएका टहराको हकमा भने भक्तपुर–नगरकोट सडक विस्तार आयोजनाले त्यस्ता टहरा भत्काउने उहाँको भनाइ थियो ।
भूकम्प अगाडि पनि भक्तपुरको तेलकोट–नगरकोट सडकमा व्यापक रुपमा वन फँडानी गरेर टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गरेपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, डिभिजन सडक र राजनीतिक दलका प्रतिनिधिसमेतले त्यस्ता टहरा भत्काउने योजना कार्यान्वयन नभएपछि अहिले व्यापक रुपमा यस्ता टहरा निर्माण हुन थालेका हुन् । रासस
No comments:
Post a Comment