काठमाडौँ, ४ फागुन । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठका पिता वरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ ।
महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै उहाँको निधनले देशलाई ठूलो क्षति पुगेको बताएको छ । महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै पितृशोकमा पर्नुभएका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठसहित परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
चौरहत्तर वर्षीय श्रेष्ठको फागुन ३ गते उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।
विसं १९९८ को वैशाख १३ गते जन्मनुभएका श्रेष्ठ ५० वर्षदेखि समाजसेवामा समर्पित हुनुहुन्थ्यो । उहाँले विभिन्न सङ्घसंस्थामा आबद्ध रही समाजसेवामा उल्लेखनीय काम गरेबापत डेनमार्क सरकारबाट उच्च सम्मान प्राप्त गर्नुभएको थियो भने नेपाल सरकारबाट गोरखा दक्षिणबाहुलगायत दर्जनौँ उच्चसम्मान तथा पदक प्राप्त गर्नुभएको थियो ।
यस अतिरिक्त पत्रकारिता क्षेत्रमा पनि उहाँको गहिरो अभिरुची र लगाब रहेको थियो । स्वर्गीय श्रेष्ठका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । रासस
No comments:
Post a Comment