काठमाडौँ, ४ फागुन । नेकपा (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनमा निर्वाचन कमिटीले नयाँ नेतृत्वका लागि भोलि बुधबार मतदान गर्ने गरी अन्य कार्य आजलाई स्थगित गरेको छ ।
सङ्गठनको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि दुवै पक्षका प्यानल तथा स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि छनोटका विषयमा विवाद सहमतिमा समाधान भएपछि नयाँ पदाधिकारी चयनका लागि उम्मेदवारी दर्ता भएको हो ।
सम्मेलनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारी दर्ता भएको छ ।
गौतम प्यानलबाट उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुल हुसेन खानले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
लामाको समूहबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल तथा महासचिवमा ऐन महरले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको र बुधबार बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
सङ्गठनमा १७ पदाधिकारीका साथ केन्द्रीय सदस्य, सचिवालय सदस्य गरी १४२ जनाको लागि मतदान हुनेछ । रासस
No comments:
Post a Comment