काठमाडौँ, २१ फागुन । बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच पारस्परिक सहयोगका मुख्यद्वार अहिलेसम्म पूर्णरुपमा नखुलेका बताउँदै सार्क क्षेत्रको बृहत् एकीकरण र समृद्धिका लागि त्यसो गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिन बुधबार यहाँ आउनुभएका मन्त्री इनुले नेपालका सरकारी सञ्चारमाध्यमका प्रमुख र मूलधारका निजी क्षेत्रका दैनिक पत्रिकाका सम्पादकहरूसँगको छलफलमा सार्क मुलुकबीचका द्विपक्षीय एवम् बहुपक्षीय सम्झौताबाट अपेक्षाकृत सहयोग विस्तार नभएकाले आपसी सहकार्य र सहायताका मुख्यद्वार नै खोल्नुपर्ने बताउनुभयो ।
दक्षिण एसियाका जनताको शान्ति र समृद्धि सुनिश्चित गर्न राजनीतिक स्थायित्व र शान्ति अपरिहार्य भएको उल्लेख गर्दै उहाँले पारस्परिक सहयोग अभिवृद्धिका लागि सार्कका सबै मुलुक र छिमेकी राष्ट्रबीच सघन सहकार्य अत्यावश्यक भएको बताउनुभयो ।
सार्कलाई अझ प्रभावकारी र सक्रिय बनाउनुपर्नेमा जोड दिँदै मन्त्री इनुले सार्क तहमा नै सुरक्षासम्बन्धी सम्झौता हुनुपर्ने बताउनुभयो । “सार्कस्तरमा दक्षिण एसियाली सुरक्षा सम्झौता हुनसके सहयोगको नयाँ युग प्रारम्भ हुन्छ” – उहाँले भन्नुभयो ।
भूमण्डलीकरणको वर्तमान युगमा क्षेत्रीय सहयोगलाई अझ सुदृढ एवम् प्रभावकारी तुल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मानव संसाधनका दृष्टिले अति वैभवशाली दक्षिण एसियाले त्यसको भरपूर उपयोग गर्न नसकेको बताउनुभयो ।
गरिबी, जातीयता र आणविक शस्त्र दक्षिण एसियाको विकासका बाधक हुन् भन्दै उहाँले तिनबाट पार पाउने र शान्त, समृद्ध एवम् स्थिर दक्षिण एसिया निर्माण गर्ने लक्ष्य सार्कका सबै मुलुकको हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment