Monday, March 28, 2016

सीमाङ्कन सम्बोधन गर्न एमाले तयार

कावासोती, १६ चैत । नेकपा (एमाले) का युवा नेता एवम् संसदीय दलका सचेतक गोकुल घर्तीमगरले मधेसमा देखिएको सीमाङ्कनको असन्तुष्टिलाई वार्ताबाटै सम्बोधन गर्न एमाले तयार भएको बताएका छन् ।

एक मधेस दुई प्रदेशको पक्षमा होइन, अहिलेको सात प्रदेशमा केही हेरफेर गर्नुपर्ने भए हामी तयार छौँ उहाँले भन्नुभयो – “संविधान सम्बोधनले मधेसका दलको समानुपातिक प्रतिनिधित्वको व्यवस्था र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने माग पूरा भइसकेको छ, राजनीतिक संयन्त्रमा आउनुहोस् मिलेर अगाडि बढौँ ।”

नेपाल लोकतान्त्रिक मगर सङ्घको कावासोतीमा सोमबार भएको बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै उहाँले भन्नुभयो –“अहिले सरकार आत्मनिर्भर देश बनाउन लागिपरेको छ, यहाँ कसैले भनेअनुसार होइन राष्ट्रियता र स्वाधिनतालाई अगाडि राखेर काम गर्ने हो ।” देश सङ्कटमा परेका बेलामा अघिल्ला प्रधानमन्त्रीले झैँ ओलीले देशलाई घाटा हुने होइन मजबुत हुने काम गर्नुभएको छ उहाँले थप्नुभयो । भारत भ्रमणमा प्रधानमन्त्री माग्न जानुभएको हैन दुई देशबीचको भ्रमण थियो, त्यो सफल नै रह्यो, सचेतक घर्तीले भन्नुभयो ।

भेलामा पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु अभियान चलेको बताउनुभयो । नागरिकको स्वास्थ्यका लागि मासुको स्वच्छताका बारेका मन्त्रालयले काम गरेको उहाँले बताउनुभयो ।

भेलामा लोकतान्त्रिक मगर सङ्घका अध्यक्ष भोगविक्रम बूढा, सचिव भोगबहादुर थापा, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य झकबहादुर थापा, नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेल, एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, सांसद सिन्धु जलेसा बुढाथोकी, एमाले नेता विष्णु भुसालले संविधानमा अधिकार प्राप्त गरेकाले अब कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

भेलाले मनवीर पुलामीको अध्यक्षतामा नवलपुर क्षेत्रमा नौ सदस्यीय र इन्द्र रानाको अध्यक्षतामा परासी क्षेत्रतर्फ १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । पुलामी ४ नम्बर प्रदेशको प्रतिनिधित्व गर्नुहुन्छ भने रानाले ५ नम्बर प्रदेशको प्रतिनिधित्व गर्नुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts