Sunday, March 6, 2016

विदेशीको अनुकूलमा संविधान नबन्दा नाकाबन्दी : उपप्रम केसी

फलेवास (पर्वत), २४ फागुन । उपप्रधानमन्त्री एवम् गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले विदेशीको अनुकूलमा संविधान नबनाइँदा नेपालले नाकाबन्दीको मार खेप्नुपरेको बताउनुभएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारमा आइतबारदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय बृहद् महिला महोत्सवको उद्घाटन गर्दै मन्त्री केसीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा जस्तोसुकै राम्रो काम गरे पनि विदेशीको इशारामा गर्नुपर्ने भएकाले पनि मुलुकको राष्ट्रियता खतरामा रहेको उल्लेख गर्नु भयो । उहाँले नाकाबन्दी अझै सहज भइनसकेको पनि बताउनुभयो ।
अर्को प्रसङ्गमा मन्त्री केसीले मुलुकको बढ्दो पलायन रोक्नका लागि सरकारले स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

उहाँले महिला पनि अब चुलोचौकोमा मात्र सीमित नरही आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहनुपर्ने धारणा राख्नु भयो ।
महिलाको मात्र व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

महोत्सवमा लघु तथा घरेलु उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, स्वास्थ्य शिविरलगायतका कार्यक्रम रहेका छन् ।

त्यसैगरी टपरी गाँस्ने प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts