चितवन, २४ फागुन । विद्युत्् प्राधिकरणले निजी क्षेत्रका मेडिकल कलेज र अस्पतालको डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति बन्द गरेपछि यहाँका मेडिकल कलेज र अस्पताल प्रभावित भएका छन् ।
दैनिक १३ घन्टा विद्युत्भार कटौती हुँदा इन्धनको समेत अभावका कारण अत्यावश्यक उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएका छन् । प्राधिकरणले भरतपुरका दुई मेडिकल कलेजसहित १३ निजी अस्पतालका डेडिकेटेड फिडर फागुन १७ गतेबाट कटौती गरी विद्युत्भार कटौती हुने फिडरमा लाइन जोडेको छ ।
दुई मेडिकल कलेजका एक हजार ५०० श्यया र तिनका उपकरण नियमित सञ्चालन गर्न जेनेरेटर चलाउनका लागि मात्र प्रतिघन्टा ७५ लिटर डिजेल खर्च हुने अस्पतालले जनाएका छन् ।
चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिषचन्द्र न्यौपानेले दिनहँु सरदर ५४ वटा शल्यक्रिया, १७१ श्ययाको सघन उपचार कक्ष सञ्चालन हुँदै आएकामा अहिले ती सेवा नियमित सञ्चालनमा कठिनाइ भएको बताउनुभयो ।
विद्युत् आपूर्ति हुँदामात्रै शल्यक्रिया गरिएको छ भने सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष र भेन्टिलेटरमा बिरामी भर्ना गर्न नसकेको उहाँले बताउनुभयो । जसका कारण अस्पतालले ठूलो नोक्सानी बेहोरिरहेको छ भने बिरामीले उपचार पाउन नसकेको न्यौपानेले बताउनुभयो ।
शल्यक्रिया गर्दागर्दै विद्युत् आपूर्ति बन्द हुँदा महत्वपूर्ण शल्यक्रिया असफल हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो । मुटुको एनजिओप्लास्ट, टाउकोको शल्यक्रिया जस्ता जटिल शल्यक्रिया जोखिमपूर्ण ढङ्गबाट गर्नुपरेको उहाँको भनाइ छ ।
भरतपुरकै कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा नटराज प्रसादले मानवीय संवेदनासँग जोडिएकाले अस्पतालहरुलाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिँदा जनतालाई सेवा दिन कठिन भएको बताउनुभयो ।
भुइँचालो, नाकाबन्दी, ग्यास, डिजेल अभावजस्ता समस्या भोगिरहेका बेला विद्युत् आपूर्ति असहज बनेपछि बिरामीको उपचार जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो ।
जिल्लामा निजी अस्पतालको सङ्ख्या १९ वटा रहेको छ । निजी अस्पताल समन्वय समिति चितवनका सचिव पुष्प शर्मा धितालले ३०० सघन उपचार कक्ष, सिटीस्क्यान र एमआरआई गरेर दैनिक १५० प्रभावित भएको बताउँदै दैनिक दुई हजार ५०० को हाराहारीमा बिरामीलाई सेवा दिइरहेकामा सबै सेवा प्रभावित बनेको बताउनुभयो । रासस
No comments:
Post a Comment