Friday, March 18, 2016

युवा उद्यम कार्यक्रम सञ्चालन गरिन्छ : ढुङ्गेल

काठमाडौँ, ५ चैत । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले कृषि, पर्यटनलगायत क्षेत्रमा ठूला परियोजना सञ्चालन गर्न गैरआवासीय नेपाली सङ्घसँग परिषद्को समन्वय भइरहेकोे बताउनुभएको छ ।

युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले युवा वर्गलाई स्वास्थ्य, खेलकुद, सामाजिक क्षेत्रमा क्रियाशील बनाएर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । उपाध्यक्ष ढुङ्गेलले ग्रामीण युवा उद्यम कार्यक्रम सञ्चालन गरी तीन लाख ६० हजार युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न पहल गरिने बताउनुभयो ।

युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तले एक करोड सात लाख युवा समुदायको पक्षमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल तरुण दलका कावा अध्यक्ष राधा घलेले युवाका लागि छरिएका बजेट एकीकृत गरी तिनको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

सद्भावना पार्टी युवा मञ्चका अध्यक्ष रञ्जित सिंह, मधेसी फोरम नेपालका कोषाध्यक्ष जगदीश साहलगायतले परिषद्लाई समावेशी अवधारणाअनुसार सबै क्षेत्रका युवाको सन्तुलित प्रतिनिधित्व हुने गरी पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले युवाको भावनालाई सम्बोधन हुने गरी कार्ययोजना ल्याउन सके मात्र देश समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts