काठमाडौँ, २८ फागुन । पशुपछी विकासमन्त्री शान्ता मानवीले संविधानले महिला अधिकारका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
युवासङ्घ नेपालद्धारा १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा मन्त्री मानवीले अहिलेको संविधानको जगमा राष्ट्रप्रमुख तथा व्यवस्थापिका–संसद् प्रमुखको जिम्मेवारी महिलाले प्राप्त गरेको चर्चा गर्नु भयो ।
उहाँले समावेशी संविधानसभाबाट जारी भएको संविधानले सबै जाति समुदायलाई अधिकार प्रदान गर्न मार्ग प्रशस्त गरेको बताउँदै संविधानप्रति चित्त नबुझेका समूहले पनि अहिलेको संविधान संशोधनको प्रक्रियाबाट अधिकार प्राप्त गर्नसक्ने विचार व्यक्त गर्नुभयो ।
उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा, राष्ट्रिय योजना आयोगका सदस्य सुमित्रा अमात्य, उद्यमी कमला श्रेष्ठ, युवा सङ्घका महिला विभाग प्रमुख दीलु पन्तलगायतले महिला सशक्तीकरणका लागि उनीहरुलाई उद्यमशीलता तालिमको खाँचो औँल्याउँदै बिनाधितो सुलभ ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
युवासङ्घका अध्यक्ष राजीव पहारीले महिलामाथि हुने विभेद र हिंसालाई न्यूनीकरण गर्न उनीहरुलाई आर्थिक गतिविधिमा संलग्न गराई अर्थतन्त्रमा पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो ।
दोस्रो जिल्ला अधिवेशन सुरु
नेवार पत्रकार राष्ट्रिय समाज (नेवाः पत्रकार राष्ट्रिय दबुः)को दोस्रो काठमाडौँ जिल्ला अधिवेशन आज सुरु भएको छ ।
देशमा भएका विभिन्न परिवर्तनमा पत्रकारिता क्षेत्रबाट गरिएको योगदान तथा आगामी दिनमा देश विकासमा पत्रकारले खेल्नुपर्ने भूमिकाबारेमा अधिवेशनमा छलफल सुरु भएको छ ।
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले अधिवेशनको सफलताको कामना गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत नेवार समुदायका पत्रकारले सम्बन्धित संस्कृतिको संरक्षणका साथै राष्ट्र निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने सुझाव दिनुभयो ।
सोही पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा विभिन्न निकायबाट हुने चुहावट तथा भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको आकर्षण घटेको स्वीकार्दै भ्रष्टाचार न्यूनीकरण र विकास र जनताका सेवाका लागि पत्रकारिता क्षेत्र केन्द्रित हुनुपर्ने र सञ्चारकर्मी मर्यादित भएर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।
नेकपा (एमाले)का नेता विनोद श्रेष्ठले पत्रकारले सामाजिक सद्भाव तथा विभिन्न जातिकाबीच एकता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै अब राजनीतिक क्रान्ति पूरा भइसकेका अवस्थामा सामाजिक विकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष नातिकाजी महर्जनले सबै जातजातिका पत्रकारसँग समन्वय गरी समाजमा सत्यतथ्य सूचना पु¥याउन संस्था क्रियाशील रहेको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment