धनगढी, २२ फागुन । आजदेखि यहाँ सुरु भएको ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल) ३‘ को पहिलो दिन स्थानीय टिम चौराहाले विजयी सुरुवात गरेको छ ।
अमन पन्थीको उत्कृष्ट प्रदर्शनको मद्दतले चौराहाले हसनपुरमाथि सात विकेटको जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको हसनपुरले निर्धारित २० ओभरको खेलमा ७१ रनमात्र बनाउन सक्यो । ११ रनमै पहिलो विकेटका रुपमा प्रकाश थापालाई गुमाएको हसनपुरले लगत्तै सुवोध ऐरलाई ३ रनमै गुमाएपछि टिम दबाबमा परेको थियो ।
अनुभवी ब्याट्सम्यान विनोद लामाले १६ रनको पारी खेल्दा अमन पन्थीले उनलाई बोल्ड गर्दै पवेलिएनको बाटो देखाए । त्यस्तै उनका सहकर्मी ज्ञानेन्द्र क्षेत्रीलाई पनि अमनले शून्यमा आउट गर्दै उनले चार ओभरको खेल्दा एक मेडन ओभरसहित ११ रन दिँदै तीन विकेट लिन सफल भएका थिए । बलिङमा चौराहाका सोनी तामाङ र अर्जुन साउदले समान २ विकेट लिएका थिए ।
चौराहाले ओपनर विपीन रावलको १२ बलमा २० रनको पारीको मद्दतले ११.५ ओभरमा लक्ष्य भेटायो । दीपेन्द्र थापाले अभिजित १९ रनले उनलाई साथ दिँदा चौराहाले टुर्नामेन्टमा विजयी सुरुवात ग¥यो । हसनपुरका कप्तान तथा युवा बलर विक्रम ठगुन्नाले चार ओभरमा १३ रन लिँदै दुई विकेट लिए पनि अन्य बलरले उनलाई साथ दिन नसक्दा हसनपुर खेलमा फर्कन सकेन ।
अमन पन्थीलाई ‘म्यान अफ द म्याच’ घोषित गरी रु पाँच हजार नगद र ट्रफी हात प्रदान गरियो । खेलाडीको ‘अक्सन’ अर्थात् मोलमोलाई गरी खेलाइएको यो प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना गरिएको हो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विजय भट्ट र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा गएको भदौमा भएको टीकापुर घटनामा दिवङ्गत हुनुभएका सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक स्व. लक्ष्मण न्यौपानेलाई स्मरण गरिएको थियो । अञ्चल प्रहरी कार्यालयको मैदानमा गरिएको प्रतियोगिता स्व न्यौपानेको सम्झनामा समर्पण गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले बताउनुभयो । रासस
No comments:
Post a Comment