काठमाडौँ, ३० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतको नीति नै पूर्णतः गलत भएको बताउनुभएको छ ।
‘साम्राज्यवाद विरोधी मोर्चाले आज यहाँ आयोजना गरेको ‘बढ्दो फासीवाद र दक्षिण एसियामा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताले बिना नै नाकाबन्दी भोग्नुपरेको बताउनुभयो ।
मुलुकको आन्तरिक विषय विदेशीको हातमा पुगेको, निर्णय क्षमतामा ह्रास आएको र साना–साना विषयमा पनि व्यवस्थापन गर्ने सोच छिमेकीमा हाबी रहेको उल्लेख गर्दै उहाँले नेपालका नेता र पार्टी नै सक्षम नबन्दासम्म हस्तक्षेप कायम नै रहने स्पष्ट पार्नुभयो ।
नेपाली नेतृत्वले नै विदेशीलाई गुहार्ने गरेका कारण समस्या जेलिएको र नेपाल नराम्ररी सङ्कटमा फसेको उहाँको कथन थियो ।
भारतीय पत्रकार एवम् लेखक आनन्दस्वरुप बर्माले धर्म र जातको नाममा दक्षिण एसियामा प्रभूत्व जमाउन खोज्ने प्रवृत्ति भारतमा हाबी रहेको उल्लेख गर्नुभयो ।
छिमेकीलाई सम्मान गरेर, उनीहरुको सार्वभौमसत्ता र अखण्डतालाई स्वीकार गरेर अगाडि बढउने संस्कृतिको विकास नहुँदासम्म समस्या कायम रहने उहाँको तर्क थियो ।
मोर्चाका संयोजक एवम् लेखक नरेन्द्रजङ्ग पिटरले भारतमा छात्र सङ्घका संयोजक पक्राउ पर्नु, बङ्गलादेशमा ब्लगरको हत्या हुनु, जातीय द्वेष फैलाइएको, निमुखा नागरिकको हत्या र बलात्कार हुँदासमेत चुपचाप बस्ने प्रवृत्ति दक्षिण एसियामा हाबी रहेको धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment