जुम्ला, ६ चैत । ताम्ती गाविसमा आमा समूहको सक्रियतामा एक हजार ४०० लिटर मदिरा नष्ट गरिएको छ ।
सदरमुकामबाट ३९ किलोमिटर दूरीमा रहेको ताम्ती गाविस वडा नं ७, ८ डुङ्ग्री र टोप्ला गाउँका स्थानीय आमा समूहले शुक्रबार उक्त परिमाणको मदिरा नष्ट गरेका हुन् ।
गाउँमा जुवातास र मदिराको बिगबिगी निकै बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीको समन्वयमा महिलाले मदिरा नष्ट गरेको कालिका मावि टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले बताउनुभयो ।
मदिराले ल्याएको विकृतिलाई पूर्णरुपले समाप्त पार्न गत फागुन २५ देखि यही चैत ७ गतेसम्म घ्याम्पो फोड्ने र त्यसपछि मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अभियानको नेतृत्व महिला समूहले गरेको उहाँको भनाइ छ ।
“पुरुषको सबै समय जुवातास, मदिरामा बर्बाद हुने, घरमा सिर्जित कलह र घरायसी झगडाले घरेलु हिंसा बढ्न थाले, यही कुरालाई मनन् गर्दै मदिरा नष्ट गर्ने अभियानमा लाग्यौँ”–कैलाश नागरिक सचेतना केन्द्रका अध्यक्ष कृष्णदेवी शाहीले भन्नुभयो ।
आमा समुहले नेतृत्व गरेको अभियानले ३५ लिटरका ४० ड्रम मदिरा र २१ थान रक्सी बनाउने भाँडा जफत गरी नष्ट पारेको अस्थायी प्रहरी चौकी ताम्तीका प्रहरी हवल्दार बीरबहादुर शाहीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment