काठमाडौँ, ६ चैत । विनासकारी भूकम्पले नेपालमा विपत्ति निम्त्याएको समयमा चिकित्साशास्त्रका विद्यार्थी कसरी काम गर्ने भनेर अलमलमा परे । चिकित्साशास्त्रको पाँचवर्षे अध्ययन अवधिमा अन्तिम वर्षमा वा इन्र्टन गर्ने समयमा मात्र विद्यार्थीलाई कसरी विपद्का समयमा बिरामीको ज्यान बचाउने भन्ने कुरा सिकाइने हुनाले विद्यार्थी अलमलमा परेका थिए ।
त्रिवि शिक्षण अस्पतालका एमविविएस अन्तिम वर्षका विद्यार्थी तथा एसियन मेडिकल विद्यार्थी एसोसियसन नेपालका उपाध्यक्ष सन्तोष उपाध्याय आफू र आफ्ना साथीले भूकम्पबाट घाइते भई अस्पताल आएका बिरामीलाई बचाउन कसरी काम गर्ने भन्ने अन्योलमा परेको अनुभव सुनाउनुहुन्छ ।
यही कुरालाई मध्यनजर गर्दै विपद् जुनसुकै समयमा जुनसुकै रुपमा आउने भएकाले चिकित्साशास्त्रका विद्यार्थीलाई पनि कसरी विपद्मा परेकाको ज्यान जोगाउने भन्ने विषयमा एसोसियसनले आजदेखि ‘विपद् व्यवस्थापन’ विषक अन्र्तराष्ट्रियस्तरको छदिने गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीका संयोजकसमेत रहनुभएका उपाध्यायले गोष्ठीमा नेपालसहित एसिया महादेशका ४० चिकित्सा विद्यार्थीको सहभागिता रहेको बताउनुभयो । गोष्ठीमा थाइल्याण्ड, इन्डोनेसिया ,न्युजिल्याण्ड, फिलिपिन्स, भारतलगायत मुलुकका चिकित्साशास्त्रका विद्यार्थी सहभागी छन् ।
गत वैशाखको ‘गोरखा भूकम्प’मा परी करिब नौ हजार नेपालीको ज्यान गएको थियो भने २० हजारको हाराहारीमा मानिस घाइते भएका थिए ।
विपद्को अवस्थामा पीडितको उद्धार र प्राथमिक तथा आकस्मिक उपचारका बारेमा गोष्ठीमा सहभागीलाई जानकारी दिइने त्रिवि शिक्षण अस्पतालका विपद् व्यवस्थापन प्रमुख प्रा डा प्रदिप वैद्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिकित्साशास्त्रको विद्यार्थी हुनेबित्तिकै समाजले पूर्ण रुपको डाक्टर नै सोच्ने भएकाले यस विषयका विद्यार्थीसँग पनि धेरै अपेक्षा रहेकाले अबका विद्यार्थीलाई पहिलेदेखि नै विपद् व्यवस्थापनका विषयमा जानकारी हुनु आवश्यक छ ।” रासस
No comments:
Post a Comment