Thursday, March 24, 2016

पौडेललाई संसदीय दलको नेता बनाउन देउवासँग आग्रह

काठमाडौँ, ११ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आग्रह गर्नुभएको छ ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गर्नुभएको हो ।

पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो ।

उहाँहरुको आग्रहलाई सभापति देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिनुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

काँग्रेसको संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी भइरहेको छ ।

निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा रहेको समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे रहनुभएको छ । समितिले यसै हप्ता बैठक बसेर निर्वाचनको मिति घोषणा गर्ने समितिका सदस्य पाण्डेले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को आधिकारिक वेभसाइटका अनुसार काँग्रेसका अहिले १९८ जना सांसद रहनुभएको छ । तीमध्ये १०६ जना प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने ९२ जना समानुपातिक तर्फबाट सांसद हुनु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts