काठमाडौँ, ३० फागुन । मानव अधिकार तथा शान्ति समाजले देशमा विद्यमान समस्याबारे जनतालाई सुसूचित गर्न अभियान थाल्ने भएको छ ।
समाजले ‘शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान’ भन्ने मूलनारासहित आगामी चैत ६ गतेदेखि नै स्वाभिमान अभियान प्रारम्भ गर्न लागेको हो । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाबारे विभिन्न जिल्लामा समाजले जनजागरणसभा र कार्यक्रम गर्ने समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “अभियानको पहिलो जागरण सभा चैत ६ गते शनिबार विराटनगरमा हुनेछ भने चैत ८ गते झापाको धुलाबारीमा, ११ गते पाँचथरमा र अन्य पूर्वाञ्चलका जिल्लामा पनि जागरणसभा आयोजना गरिनेछ ।”
अभियानमा मुख्यवक्ताका रुपमा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी रहने र राजनीतिक क्षेत्र र नागरिक समाजका प्रतिनिधिको मन्तव्यका साथै कवितासमेत प्रस्तुति हुने बताइएको छ ।
पूर्वाञ्चलबाट प्रारम्भ भई विभिन्न चरणमा देशका ६० जिल्लामा जागरणसभा आयोजना गर्ने लक्ष्य राखेको समाजले अवधारणापत्र समेत प्रकाशित गरेको छ ।
शान्तिको सुनिश्चितता, अहिंसाको प्राधान्यता, अधिकारको सुदृढता, लोकतान्त्रिक मूल्यको व्यापकता र विविधतालाई उत्सवका रुपमा ग्रहण गर्ने संस्कारको विकासले नै राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउने भएकाले अभियान गर्न लागिएको महासचिव पुडासैनीले बताउनुभयो । रासस
No comments:
Post a Comment