Sunday, March 27, 2016

प्रम ओलीद्वारा सिचुवान प्रान्तका अधिकारीसँग भेटवार्ता

बेइजिङ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनका सिचुवान प्रान्तका कम्युनिस्ट पार्टीका महासचिव तथा प्रान्तका गभर्नर वाङ दोङमिङलगायतका अधिकारीसँग भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले आफूले चीनसँगको मित्रतालाई महत्व दिएको र भ्रमणबाट द्विपक्षीय सम्झौता सम्पन्न भई नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो ।

उहाँले चीनका प्रधानमन्त्रीसँग भएको भेटवार्ताबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थपिएको बताउँदै विभिन्न सम्झौता भएका र आफूले बोवाओ फोरममा भाग लिएको उहाँहरुलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सिचुवान देङ्स्वाओ पिङ जस्ता नेताको भूमि भएको र उहाँकै मार्गदर्शनले चीन आज प्रगतिको मार्गमा अगाडि बढेको चर्चा गर्नुभयो ।
नेपालले चीनबाट विभिन्न क्षेत्रमा लगानीको अपेक्षा गरेको र व्यापार विस्तार तथा पर्यटनको विकास गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध जन्मेको देश भएको हुनाले यदि चीनबाट पनि बुद्ध धर्मावलम्बीहरुले नेपाल भ्रमण गरे नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

नेपालले यस वर्षको सुरुमा भूकम्पको ठूलो मार खेप्नुपरेको, त्यसबाट करिब नौ हजारको मृत्यु र आठ लाख घर भत्केको अवस्थाको मार खेपिरहेकाले आफूले वोएचुवानमा गई त्यहाँको पुनःनिर्माण हेरेर पाठ सिकेको र चीनको अनुभव नेपालमा काम लाग्ने उल्लेख गर्नु भयो ।

उहाँले हालै संविधान जारी भएपछि नेपालको दृष्टि केवल आर्थिक विकासमा भएकाले यस प्रयासमा छिमेकी चीन सरकार तथा व्यापारी वर्गको सहयोग आवश्यक हुने पनि बताउनुभयो ।

सो अवसरमा पार्टी महासचिव वाङले नेपालले छेन्दुमा महावाणिज्य दूतावास खोल्ने र काठमाडौँ–छेन्दु भगिनी सम्बन्ध स्थापना हुने भएकामा खुसी व्यक्त गर्दै नेपाललाई सहयोग जारी राख्ने बताउनुभयो ।

महासचिव वा¬ङलाई प्रधानमन्त्री ओलीले सकेसम्म चाँडै नेपाल भ्रमण गर्न निम्तो दिनुभएकामा महासचिवले स्वीकार गर्दै उपयुक्त अवसरमा भ्रमण गर्ने बताउनुभयो । तीर्थ भट्टराई/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts