चितवन, १४ चैत । एकसिङ्गे गैँडा र बाघका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान तयारी तीव्र बनाइएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बाह्रसिङ्गे ल्याउने निर्णयसँगै यहाँ वासस्थानको व्यवस्थापनमा निकुञ्ज जुटेको हो ।
निकुञ्जको बस्ती स्थानान्तरण गरिएको पदमपुर क्षेत्रमा ती जनावरका लागि उपयुक्त हुने भन्दै पानी र घाँसे मैदान व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, पहिले बस्ती हुँदा चुरेबाट झर्ने पानीका स्रोत बन्द भए पनि तिनीहरूलाई खुलाउने तयारी भएको छ ।
सो क्षेत्रमा प्रशस्त ताल तलैया भएकाले तिनीहरूको सरसफाइ र व्यवस्थापन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । कतिपयमा ड्याम बनाएर पानीका पोखरी बनाउने तयारी निकुञ्जले गरेको छ । सोही क्षेत्रमा २० हेक्टर हाराहारीमा घाँसे मैदान व्यवस्थापन गरिसकिएको छ भने थप घाँसे मैदानको व्यवस्थापन गर्ने तयारीमा निकुञ्ज जुटेको छ ।
बाघका लागि उर्वर बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जमा अर्ना, बाह्रसिङ्गेजस्ता जनावर ल्याउन सके बाघको आहारा बढ्ने र बाघ बस्ती पस्ने समस्यामा कमी आउने छ ।
नेपालमा कोसी टप्प वन्यजन्तु आरक्षमा सन् २०१३ को गणनाअनुसार ३२७ वटा अर्ना रहेका छन् । यस वर्ष पुनः गणना हुँदैछ । कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्याम साहले स्थानान्तरणको विषयमा छलफल चलिरहेको बताउनुभयो । कोसी टप्पु अर्ना र चरालाई प्रख्यात मानिन्छ ।
बाह्रसिङ्गे शुक्याफाँटामा दुई हजार २०० र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सयको हाराहारीमा रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, निलगाई जस्ता जनावरका साथै २६५ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने र उभयचर पाइन्छन् । रासस
No comments:
Post a Comment