काठमाडौँ, २३ फागुन । पुनःनिर्माण प्राधिकरणले यही महिनाको अन्तिमदेखि दोलखाको सिङ्गटीबाट भूकम्प प्रभावितका घर निर्माणका लागि रु ५० हजार अनुदान रकम वितरण कार्य सुरु गर्ने भएको छ ।
गोरखा भूकम्पका कारण क्षतिग्रस्त घर तथा आवास निर्माणका लागि रु दुई लाखका दरले राहत रकम वितरण गर्ने तयारी गरेको प्राधिकरणले पहिलो किस्ताबापत उक्त रकम वितरण गर्न लागेको हो । यसअघि प्राधिकरणले यही फागुन १२ र २० गतेदेखि रकम वितरण गर्ने योजना बनाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र नेपाली काँग्रेसको महाधिवेशनका कारण केही समय पर धकेलिएपनि रकम वितरणको काम सुरु गर्न लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । “सिङ्गटीबाट सुरु गर्न लागिएको अनुदान वितरण कार्यको अनुभव र सिकाइपछि व्यवस्थापनलाई थप परिमार्जन गरी दोलखाका थप गाविसमा समेत सो कार्य विस्तार गरिने र क्रमशः अरु जिल्लामा लगिनेछ”–उहाँले भन्नुभयो ।
निजी आवास निर्माणका लागि भूकम्पबाट क्षतिग्रस्त भएका घरधनीलाई सरकारले तीन किस्तामा रु दुई लाख अनुदान उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ । स्थानीय निकाय र सम्बन्धित घरधनीबीच अनुदान सम्झौता भइसकेपछि पहिलो किस्ताअन्तर्गतको रु ५० हजार रकम बैंकमार्फत सम्बन्धित घरधनीको खातामा जम्मा हुने र सो रकम निकालेर घरधनीले आफूलाई अनुकूल समयमा आवश्यकताअनुसार निकालेर निर्माण कार्य सुरु गर्न सक्नेछन् ।
प्राधिकरणले काठमाडौँ, भक्तपुर र ललितपुरमा भने लगत सङ्कलनको कार्य सुरु गरेको छैन । यी तीन जिल्लाबाहेक ११ जिल्लामा भने आज एक हजार ४७ जना इन्जिनियर परिचालन गरिएको छ । तथ्याङ्क विभागले घरमूलीको नाम, आर्थिक, समाजिक अवस्था एवम् भूकम्पले क्षति पु¥याएको घर तथा आवासको तस्बिर लिएको छ । प्रविधिको प्रयोग गरेर सबै विवरण विभागको केन्द्रीय कार्यालयमा आउने गरी तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
यस्तै, प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रमा नक्सा बेगर पनि घर तथा आवास निर्माण गर्नदिने भएको छ । सामान्य आचारसंहिता हेरेर घर निर्माण गर्न सकिने गरी आवश्यक तयारी गरिएको छ । यस्तै, भूकम्पपीडित परिवारले आफ्नै घर तथा गाउँमा शाखारहित बैंकबाट सहजरुपमा अनुदान रकम लिन सक्ने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको कथन छ ।
यस्तै, पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा गैरसरकारी संस्थाको सहयोग परिचालन गर्नेसम्बन्धी छुट्टै कार्यविधि र भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका लागि जग्गा दर्ता गर्दा अपनाउनुपर्ने कार्यविधिको तयारी भइरहेको छ । प्राधिकरणले सरकारी भवन, पुरातात्विक सम्पदा, विद्यालय भवन एवम् स्वास्थ्य केन्द्रलगायत संरचनाको पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको सो अवसरमा जानकारी दिइयो ।
आगामी वैशाखसम्मको कामबारे प्राधिकरणले कार्ययोजनासमेत सार्वजनिक गरिसकेको अवस्थामा आगामी पाँच वर्षका लागि पुनःनिर्माणको योजना र पुनःनिर्माणसम्बन्धी खाका तयार गरिरहेको जनाएको छ । रासस
No comments:
Post a Comment