काठमाडौँ, २२ फागुन । रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।
नवोदित विद्याकुञ्ज उच्च माध्यमिक विद्यालयको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्व सभासद् खिमलाल देवकोटाले शिक्षालाई संस्कारका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएको भन्दै अभिभावकले बालबच्चालाई जुन बाटोमा लग्यो सोहीअनुरुप विद्यार्थी अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्यप्रसाद शर्माले शिक्षालाई सैद्धान्तिकभन्दा व्यावहारिक बाटोमा लैजानु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो –“बालबालिकालाई कुन बाटोमा डो¥याउँदा राम्रो मान्छे बन्छ भन्ने कुरा अभिभावकको भएकाले बालबच्चाको शिक्षामा अभिभावकको ठूलो भूमिका हुन्छ ।”
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा लोकेन्द्र शेरचन, सोही विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीलगायतले विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न विद्यालयमात्र नभई पारिवारिक वातावरण पनि राम्रो हुनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment