काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय र समानतापूर्ण समाज भएमा मात्र समृद्ध नेपाल बन्ने बताउनुभएको छ ।
एक सय छैटौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा आज यहाँ आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले अवसर पाएमा महिला पनि अगाडि बढ्न सक्छन् भन्दै महिलाको योग्यता र क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“नेपालमा राष्ट्रपति पदमा महिला पुग्नु लामो सङ्घर्षको उपलब्धि हो”, उहाँले भन्नुभयो– “संविधानसभामा गरेको सङ्घर्षका कारण नै विश्वमा कमै मात्र हुने उपलब्धि नेपालले हासिल गरेको छ ।” महिला आरक्षणका कुरा केही ठाउँ र तहसम्मका लागि मात्र भएको बताउँदै प्रधानमन्त्रीले महिलाका लागि अनिवार्य शिक्षा, आर्थिक सशक्तीकरणजस्ता योजनामा बढी लगानी गर्नुपर्ने औँल्याउनुभयो ।
उपप्रधानमन्त्री सिपी मैनालीले घरेलु श्रमलाई औपचारिक मान्यता दिई सामाजिक श्रमका रुपमा स्थापना गर्न सके महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिने बताउनुभयो । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि लैङ्गिक समानता अपेक्षाकृत रुपमा हुन नसकेको स्वीकार गर्नुभयो ।
मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिताका लागि आरक्षणको व्यवस्था गरिएको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष मनु हुमागाईंले नेपाली महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्रीको योगदानको स्मरण गर्दै महिलाका अधिकार स्थापित गर्न र न्याय दिलाउन आयोगले गरेका कामकारबाहीबारे जानकारी दिनुभयो ।
महिला अधिकारकर्मी चाँदनी जोशीले महिलाको चौतर्फी विकासका लागि राज्यले लगानी गर्नुपर्ने र राष्ट्रिय योजना बनाएर कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो । ‘लैङ्गिक समानताका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने नाराका साथ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको पनि उपस्थिति थियो । रासस
No comments:
Post a Comment