Sunday, March 6, 2016

काँग्रेस महाधिवेशन : पार्टीभन्दा उम्मेदवारको प्रचार खर्च बढी

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले अपत्यारिलो रुपमा करोडौँ खर्च गरेको बन्दसत्रस्थलमा देख्न सकिन्छ ।

उम्मेदवारले महँगा फ्लेक्स प्रिन्ट, भिजिटिङ कार्ड, नव वर्ष विसं २०७३ को गोजी पात्रो, पर्चा, पम्प्लेट, व्यक्तिगत घोषणापत्र, नीति तथा कार्यक्रम, अपिल, ब्याच, तुल, श्रव्यदृश्य प्रचार, माइकिङ, गीत–सङ्गीत लगायत प्रचार सामग्री प्रयोग गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाबाट आउनुभएका महाधिवेशन प्रतिनिधि ईश्वरी ओझा आफूले एक उम्मेदवारको दशभन्दा बढी स्थानबाट प्रचार सामग्री प्राप्त गरेको सुनाउनुहुन्छ ।

पार्टीको प्रचार–प्रसार विभागले महाधिवेशन खर्च रु छ करोड हुने बताएको छ तर पार्टीले गर्ने खर्चभन्दा निर्वाचनमा नेतृत्व लिन चाहने नेताले गरेको खर्च बढी छ । पार्टीले भड्किलो प्रचार–प्रसार नगर्ने, मितव्ययी बन्ने भन्दै भित्तेलेखन गरेको थिएन ।

यसरी हेर्दा काँग्रेसले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्ने र पारदर्शी रुपमा खर्च गर्ने नीति लिएको देखिए पनि नेता भने अस्वस्थ प्रतिस्पर्धा एवम् अपारदर्शी खर्चमा रमाएका छन् । यस्तो रोक्न पार्टीको अनुशासन समिति वा अन्य कुन समितिले काम गर्ने भन्ने पनि पार्टी विधानमा स्पष्ट व्यवस्था गरिएको छैन ।

सूचना केन्द्रका संयोजक कविर राणा एक उम्मेदवारले न्यूनतम चार हजार भिजिटिङ कार्ड र पाँच फ्लेक्स प्रिन्ट छापेको सहजै देख्न सकिन्छ भन्नुहुन्छ । दुई फिट चौडाइ र तीन फिट लम्बाइको एउटा फ्लेक्स प्रिन्ट छाप्न कम्तीमा रु ५००, एउटा भिजिटिङ कार्ड छाप्न रु तीन, एक क्यालेन्डर र एक घोषणापत्र छाप्न रु २५ खर्च हुने महाधिवेशन प्रतिनिधि अष्ट कवेले जानकारी दिनुभयो । तर श्रव्य दृश्यमा भने बढी नै खर्च लाग्छ । केही उम्मेदवारले त मत पाउनकै लागि काठमाडौँ उपत्यकाभरका महाधिवेशन प्रतिनिधिलाई यातायात सुविधाको समेत व्यवस्था गरेका छन् ।
उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न रङ्गीन तथा महँगो कागजमा मतदाताको मन जित्ने गरी पर्चा, पम्प्लेट तथा कार्ड वितरण गरेका छन् । भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन हेर्न आउने सर्वसाधारणलाई समेत वितरण गरिएका यस्ता सामग्री यत्रतत्र फाल्नाले महाधिवेशनको बन्दसत्र चलेको स्थल फोहर देखिन्छ । महाधिवेशनपछि उम्मेदवार आफैँले यसको सफाइ गर्छन् वा गर्दैनन् हेर्न बाँकी छ ।

कागजी प्रचार सामग्री मात्र नभई उम्मेदवारले फोन सम्पर्क, मोबाइल सन्देश (एसएमएस) र फेसबुक लगायत सामाजिक सञ्जालमार्फत समेत आप्mनो प्रचार अगाडि बढाएका छन् । एसएमएस र फोन सम्पर्क एक पटक मात्र गर्दा करिब तीन हजार २०० महाधिवेशन प्रतिनिधिलाई रु २० हजार खर्च हुने देखिन्छ । केही उम्मेदवारले त नाम चलेको एफएममा विज्ञापन बजाएर समेत प्रचारमा खर्च गरेका छन् ।

भद्रकालीबाट राष्ट्रिय सभागृह हुँदै पद्मोदय मोडसम्म झन्डै एक किमीको दूरीमा बसी कार्यकर्ता र उम्मेदवारले प्रचार सामग्री वितरण गरेका छन् । “एक उम्मेदवारले महाधिवेशनमा कति खर्च गर्न पाउने भन्ने सम्बन्धमा पार्टीको विधानमा कुनै व्यवस्था गरिएको छैन”, केन्द्रीय सदस्यका उम्मेदवार शिवप्रसाद हुमागार्इं भन्नुहुन्छ । विसं २०१७ मा तर्जुमा गरी २०५१, २०५७, २०६२, २०६४ र २०६६ सालमा संशोधन एवम् परिमार्जन गरी मिलाइएको नेपाली काँग्रेसको विधानमा यससम्बन्धी बाध्यात्मक व्यवस्था नहुँदा अनावश्यक खर्च बढेको हो ।

प्रचारको शैली र अव्यवस्थित खर्चका कारण त्यागी, इमान्दर तथा खर्च गर्न नसक्ने समूह पार्टीको चुनावमा सहजै निर्वाचित हुन नसक्ने महाधिवेशन प्रतिनिधि ताराबहादुर कोइराला देख्नुहुन्छ । प्रचार प्रसार र खाना, खाजालगायत शीर्षकमा कम्ती खर्च गर्ने उम्मेदवारले पनि रु एक लाखभन्दा बढी नै लगानी गरेका छन् । महाधिवेशनमा यसरी हुने खर्चको स्रोत के हो भन्ने खुलाउने व्यवस्था पार्टीको विधानमा नगर्ने हो भने आगामी महाधिवेशनमा बिपी कोइरालाले भने जस्तो चिल्ला, सुकिला, मुकिला र हुने खानेको बोलवाला बढ्ने अनुमान गर्न गाह्रो छैन ।

सभापति, महामन्त्री, कोषाध्यक्ष एक एक, खुला केन्द्रीय सदस्य २५ र समानुपातिक समावेशी आरक्षणका गरी ६४ पदमा ३१२ नेताले उम्मेदवारी दिएपछिको प्रतिस्पर्धामा एक उम्मेदवारले रु एक लाख खर्च गर्दा उम्मेदवारकै मात्र खर्च कम्तीमा पनि रु तीन करोड १२ लाख हुन्छ । धेरै उम्मेदवारले रु एक लाखभन्दा बढी नै खर्च गरेका छन् । राजाराम कार्की र पूर्णप्रसाद मिश्र/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts