काठमाडौँ, ६ चैत । एकीकृत नेकपा(माओवादी)को आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सातवटै प्रदेशका इन्चार्जले आआफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा प्रदेशका इन्चार्ज एवम् सचिवले पार्टीको पछिल्लो अवस्था, पार्टीले खेलेको भूमिका, सरकारका सहभागी मन्त्रीको कार्यशैली र आगामी दिनमा अपनाउनुपर्ने विषयका सम्बन्धमा धारणा राख्नुभएको हो ।
पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार आजको बैठकमा सुरेश राई, विश्वनाथ साह, लीलामणि पोखरेल, डिलाराम आचार्य, जोगप्रसाद शर्मा, जनार्दन शर्मा, खगराज भट्ट र लोकन्द्र विष्टले आआफ्नो प्रदेशको प्रतिवेदन पेस गर्नुभएको हो ।
उहाँहरुले सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैली जनपक्षीय नभएको, पार्टी निर्माणमा भूमिका खेल्न नसकेको, रुपान्तरण अनुभव गर्ने गरी नभएको भन्दै आलोचना गर्नुभएको थियो ।
यस्तै पार्टीलाई जनस्तरमा लैजानेतर्फ पहल नभएको, जनताको काममा हेलचेक्रयाइँ भएको, नेताहरुमा रुपान्तरण र त्यागको संस्कृति विकास हुन नसकेको भन्दै बैठकमा तत्काल कार्यशैली सुधार गर्न सरकारमा सहभागी मन्त्रीहरुको ध्यानाकर्षण गराइएको थियो ।
त्यस्तै कैलालीको घटनापछि बिग्रेको सामाजिक सद्भाव अझै सहज नभएको, सरकारको काम कारबाहीप्रति स्थानीयस्तरमा व्यापक गुनासो रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
रुपान्तरण भनेको के हो, कुन प्रक्रियामा आधारमा रुपान्तरण गर्ने भन्ने विषयमा ठोस प्रस्तावको आवश्यकता रहेको भन्दै आजको बैठकमा धारणा राख्ने अधिकांश नेताले पार्टी निर्माणको आधार सरकारलाई बनाउने भन्दै वर्तमान सरकारमा सहभागी भए पनि मन्त्रीहरुले अपेक्षित काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।
डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेर नयाँ शक्तिको नाममा अगाडि बढिरहेका सन्दर्भमा पार्टीलाई प्रभावकारी बनाउन र माओवादी घटकहरुसँगको एकता प्रक्रिया अगाडि बढाउनसमेत नेताहरुले जोड दिनुभएको थियो । बैठक आइतबार बिहान ११ बजे पुनःबस्ने छ । रासस
No comments:
Post a Comment