काठमाडौँ, ५ चैत । ‘बहुर्राष्ट्रिय योजना सुदृढीकरण समूह टेम्पेस्ट एक्सप्रेस २८’ले प्राकृतिक प्रकोपपछिको राहत र उद्धारलाई एकीकृत र प्रभावकारी ढङ्गले अघि बढाउन सरोकारवाला निकायबीच स्थायी संयन्त्र बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
विपद् व्यवस्थापन कसरी सामूहिक प्रयासबाट छिटो र प्रभावकारी सञ्चालन गर्ने भन्नेबारे १८ मुलुकका सेना, अरु सुरक्षा निकाय तथा मानवीय सहायताको क्षेत्रमा कार्यरत निकायबीच भएको छलफलबाट उक्त निचोड निकालिएको हो ।
स्थायी संयन्त्रलाई तहगतरुपमा विस्तार गर्दै लैजानुपर्ने र प्राकृतिक प्रकोपपछिको उद्धार कार्यलाई व्यवस्थित तुल्याउन आवश्यक जनशक्ति र साधनस्रोतको समयमै जोहो गर्न पनि विज्ञले सुझाव दिएका छन् ।
प्रत्येक प्राकृतिक प्रकोपका घटनाले विपद् व्यवस्थापनका लागि सिक्ने र अनुभव गर्ने आधार बन्ने जनाउँदै सरोकारवालाले प्राथमिकताका आधारमा विषय छनोट, योजना तयार र कार्यान्वयन तीव्रता तुल्याउन सामूहिक प्रयासको खाँचो औँल्याएका हुन् ।
अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्ड र नेपाली सेनाद्वारा संयुक्तरुपमा आयोजना गरिएको उक्त कार्यशालामा विपद् व्यवस्थापनका क्षेत्रमा विश्वमै ख्याति कमाएका र अनुभव हासिल गरेका अमेरिका, बेलायत, अस्ट्रेलिया, बङ्गलादेश, कम्बोडिया, क्यानाडा, जर्मनी, अफगानिस्तान, इन्डोनेसिया, मलेसिया, माल्दिभ्स, युजिल्यान्ड, फिलिपिन्सलगायत १८ मुलुक सेना सहभागी थिए ।
सम्बन्धित देशका सरकारलाई विपद् व्यवस्थापनका लागि नीतिगत निर्णय गर्न सुझाव दिने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमका अवसरमा नेपालको पश्चिम क्षेत्र भूकम्पका दृष्टिले जोखिमा रहेको हुँदा त्यहाँ यदी आठ रेक्टर स्केलको भूकम्प गएको खण्डमा कसरी राहत उद्धार गर्ने भनेर व्यावहारिक अभ्यास गराइएको थियो ।
नेपालमा गत वैशाखमा भएको भूकम्पपछिको खोजी, उद्धार, राहत, सहयोग सङ्कलन र परिचालनका लागि भएका प्रयासको समीक्षा गर्दै त्यसबेला भएका कमजोरी र कठिनाइलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विभिन्न कोणबाट विश्लेषण गरिएको थियो ।
सो अभ्यास गराउँदा भूकम्पबाट बाटोघाटो अवरुद्ध भएको, विमानस्थल प्रयोग गर्न नसकिने अवस्था देखाइएको तथा ठूलो मात्रामा धनजनको क्षति भएको अवस्थामा कसरी खोजी, राहत, सहयोग सङ्कलन र वितरण गर्ने भन्ने उल्लेख गरेको कार्यशालामा सहभागीले जानकारी दिए ।
समग्रमा प्राकृतिक प्रकोप र महामारीका घटनापछि रोकथाम, क्षति, पुनःस्थापना, स्थान्तरणलगायतका कार्यलाई परिणाममुखी तुल्याउन राष्ट्रिय तथा बहुर्राष्ट्रिय क्षमता सुधार गर्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले कार्यशालामा सहभागी विदेशी सेनाका अधिकृतलाई प्रमाणपत्र प्रदान गर्दै ठूला प्राकृतिक प्रकोपका घटनापछिको विपद् व्यवस्थानलाई चुस्त र प्रभावकारी तुल्याउने तथा पहँुच बढाउने सन्दर्भमा कार्यशालामा भएको अभ्यास निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा रक्षा मन्त्रालयका सचिव जयमुकुन्द खनाल, गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगो र उपरथी हिमालयशमशेर थापाले विपद् व्यवस्थानमा नयाँ प्रविधि र प्रयोगका आधारमा सैनिक र गैरसैनिकलाई परिचालन गरेर तत्कालै राहत र उद्धारलाई परिणाममुखी तुल्याउन सम्बन्धित निकायको क्षमता बढाउन आवश्यक रहेको छ भन्नुभयो । रासस
No comments:
Post a Comment