काठमाडौँ, २४ फागुन । उपप्रधानमन्त्री सिपी मैनालीले महिला र बालबालिकामाथि हुने हिंसा तथा विभेद न्यूनीकरण गर्न युवा सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवस २०१६ को सन्दर्भमा लियो क्लब अफ नवलपरासी रामग्राम र बालवातावरण केन्द्र नेपालले आज संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल तथा सामाजिक संस्थाले पनि महिला र बालबालिकालाई सहयोग पुग्ने गरी विभिन्न सामाजिक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला र बालबालिका तथा समाज कल्याणमन्त्री मैनालीले महिला तथा बालबालिकाका अधिकारलाई प्राथमिकतामा राखेर सशक्त कार्यक्रम बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियानकर्मी सुनिता दनुवार तथा अधिकारकर्मी पुष्पलता भट्टराई र उर्मिलादेवी विश्वकर्माले राज्यका हरेक निकायमा महिला सहभागिता बढाउनुपर्ने र सभ्य समाज निर्माणका लागि बालबालिकामैत्री समाज निर्माण गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका संयोजक धर्मराज रिमालले महिला तथा बालबालिका माथि हुने हिंसा र विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment