काठमाडौँ, २८ फागुन । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको संस्था नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’का लागि दर्खास्त आह्वान गरेको छ ।
नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा सुधार ल्याउन पत्रकारितामार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका सञ्चारकर्मीलाई प्रदान गरिने यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ ११ पैसा रहेको छ । आवेदनका लागि दर्खास्त दिन उम्मेदवार नेपालमा जुनसुकै भाषामा दुई वर्षदेखि ग्रामीण क्षेत्रमा पत्रकारिता पेसामा क्रियाशील रहेको हुनुपर्ने नेजाले जनाएको छ ।
साथै आवेदकले आफू संलग्न संस्थाको सिफारिसका साथै स्वतन्त्र पत्रकार भए सूचना विभागद्वारा प्रदान गरेको स्वतन्त्र पत्रकारिताको अनुमतिसहितको परिचयपत्रको प्रति आवेदनमा संलग्न गर्नुपर्नेछ । सामग्री सन् २०१५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा प्रकाशन वा प्रसारण भएको सामग्री हुनुपर्ने छ । छनोटमा परेका पुरस्कृत व्यक्ति वा संस्थालाई नेपाल पत्रकार महासङ्घले आयोजना गर्ने विश्व प्रेस स्वतन्त्रता दिवस समारोहमा पुरस्कार प्रदान गरिनेछ ।
आवेदन आगामी मार्च ३१ (२०७२ चैत १८ गते) भित्र उत्कृष्ट पत्रकारिता पुरस्कार छनोट समिति, नेपाल पत्रकार महासङ्घ, केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौँको ठेगानामा पठाउन वा ालवलभउब२िmबष्।िअयm।लउ इमेल गर्न सकिने नेजाले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला शर्मा र नेजाका पूर्वअध्यक्ष प्रताप अधिकारी रहेको तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।
छनोट समितिले प्राप्त आवेदनका आधारमा उत्कृष्ट तीन सञ्चारकर्मी वा संस्था छनोट गर्ने नेजा अध्यक्ष गौतम दाहालले जानकारी दिनुभयो । सन् २०१२ बाट सुरु गरिएको यो पुरस्कार हेटौँडाका प्रताप विष्ट र दोस्रोपटक सुर्खेतका कलेन्द्र सेंजुवालले प्राप्त गरिसक्नुभएको छ । रासस
No comments:
Post a Comment